Tuesday, January 17, 2017

नयाँ प्रभातको खोजीमा - मातृका पोखरेल


मैले कलिला आँखाहरुको
सपनालाई निमोठेर
महलका भर्याङ्गहरुमा सजाउने
सिंगमरमर बनाउन सकिन,
तिमीले भनेझैं म तिमीभन्दा फरक हुँ
जसरी तिमीले आफ्नो छातिमा
बिभाजनको एउटा तश्वीर झुण्डायौ,
अव तिमीले शंकाका डोबहरु पुरिदिए हुन्छ
मैले पनि बाध्यताले चह¥याएका आँखाहरुमा
आस्थाको नयाँ प्रभात टाँगेको छु ।
                     

तिमीलाई खुसी पार्न मैले
आहालको फोहोर हिलोलाई
निर्मल जल भन्दै निसंकोच पिउन सकिन,
तिमीसँगको सहयात्राका लागि,
पसिनाका पोखरीहरुमा डुबुल्की मार्न सकिन,
मैले निर्धक्क उड्न चाहने
परेवाका प्वाँखहरु चुँडेर
जुत्ताको भित्री भुवा बनाएर लाउन सकिन,
हो! तिमीले शंका गरेको ठिकै हो
गर्मीले निसास्सिएका वस्तीहरुमा
मैले पनि नयाँ बतासलाई आमन्त्रण गरेको छु ।
                     

मैले तिमीलाई उहिल्यै भनेको थिएँ
तिम्रा मर्न लागेका घोडाहरु
त्यसबेलाका भोका वस्तीहरुमाझैं
अब टाप मारेर शासन गर्न असमर्थ हुनेछन्,
तिम्रो भद्दायुगको निरन्तरता कायम गर्न
प्रजनन्का लागि पनि पूर्णतः असमर्थ हुनेछन्
मैले तिम्रा घोडाहरुको दीर्घायु कामना गरेर
कलिला घामहरु छोप्ने बाक्लो हुस्सूलाई
यो चिसो वस्तीमा आमन्त्रण गर्न सकिन
मैले नयाँ युगको विरुद्धमा
कदापि किर्ते बयान दिन सकिन
परिणाममा तिमी बरु खोज्छौ भने
म तयार छु
अभावका ठूलाठूला शिखरहरु आरोहण गर्न
तर म इतिहासलाई साक्षी राखेर फेरी भन्छु
मैले कलिला नानीहरुको सपना देख्ने आँखाहरुलाई
खेलौना बनाएर खेल्न कहिल्यै सकिन ।

       

No comments:

Post a Comment