Tuesday, January 31, 2017

टर्चलाइट र सपना - मातृका पोखरेल

हिजोआज गाउँमा
एउटा खवर बरोबर आइरहेछ
कमरेड कंचनको टर्चलाइट हराएको खबर
हामी यतिबेला
चिन्तामग्न भएर
कमरेड कंचनको
हराएको टर्चलाइटको कुरा गरिरहेका छौं ।
***
हाम्रो गाउँ
उही तिमीले देखेजस्तै,
उही तिमीले भोगेजस्तै,
उस्तै पुरानो छ,
हामी गाउँका मान्छेहरु
यो ढल्किंदै गएको रातमा
अलिकति झिक्रा बटुलेर
चिसो रात काट्ने बहानामा
हामी सवैले माया गरेको
कमरेड कञ्चनको
उही पुरानो हराएको टर्चलाइटको कुरा गर्छौं
चिन्तामग्न भएर कुरा गछौं ।
***
कहिले अगेनाको डिलमा बसेर
कहिले सिकुवामा बसेर
कहिले बारीको कान्लातिरै बसेर
हामी त्यही पुरानो टर्चलाइटको कुरा गर्छौं
हामी अझै माया गर्दैछौं त्यो टर्चलाइटलई
जब कमरेड कञ्चन ! त्यो टर्चलाइट बाल्थे
र मध्यराततिर
हाम्रो जस्केलो ढक्ढक्याउथे,
हामी गरिबी पोतिएको मझेरीमा
जून उदाएको देख्थ्यौं,
कसले चो¥यो होला ?
कमरेड कञ्चनको टर्चलाइट!
कसले चो¥यो होला?
हाम्रो मझेरको प्यारो जून !
***

हामीले हाम्रो गाउँबाट
एउटा खबर पठाएकाछौं शहरमा,
कमरेड कञ्चनलाई,
हामी हाम्रा थैलीहरु निचोरेर
चन्दा बटुल्न तयार छौं,
कमरेड कञ्चन !
तपाईं फेरी एउटा टर्च किन्नुस,
अझै खतरनाक छ अँध्यारो रात
हामी फेरी हाम्रा टपरीहरुको
निम्तो गाँस काट्न तयार छौं,
आततायी बन्न तयार छ अँध्यारो रात,
त्यही टर्चलाइटको उज्यालोमा
हामी सगरमाथा चढ्न आतुर छौं
हामी यतिवेला झनै चिन्तामग्न छौं
कमरेड कञ्चन !
तपाईंले उज्यालोको सपना
देख्न छाडेको खबर आइरहेछ गाउँमा
हराएको टर्चलाइट सम्झेर,
कमरेड कञ्चन !
तपाईको अनुहारमा कुनै कालो बादल देखिएन,
यस्तै खबर आइरहेछ गाउँमा
आज हामी झनै चिन्तामग्न छौं ।

***
सपनाहरु हराएपछि
बेग्लै हुँदोरहेछ मान्छेहरुको अनुहार ।

No comments:

Post a Comment