Tuesday, January 17, 2017

मित्रताको आकाश - मातृका पोखरेल

उसको र मेरो बीच
ओजोन तहझैं ढाकिएको छ
अविश्वासको बादल ।

                     

ऊ सडकमा बालिएका बत्तीहरु फुटाल्न
बोकिरहन्छ गोजीमा ढुङ्गाहरु
र ऊ अँध्यारो रातझैं
हुर्काउन चाहन्छ शहरलाई,
मैले सडकबत्तीको विरुद्धमा
ऊ सँगसँगै धावा बोल्न सकिन,
मैले खोजेको थिएँ
सानासाना चुहुने खण्डहर झुप्राहरु मिलाउँ
र एउटा नयाँ सुरक्षित घर बनाउँ,
उ सँगसँगै मैले
राष्ट्रलाई एउटा घर बनाउने
सपना त्यागेको घोषणा गर्न सकिन,
क्रमशः आर्लिरहेको घामझैं
हाम्रो मित्रता टुट्दै गयो
र विस्तारै हरायो
आकाशको नीलोपन ।

                     

मैले बाल्न खोजेका
आकांक्षाका मैनबत्तीहरु
ऊ निरन्तर कुल्चिरहन्थ्यो
रेशमी जुत्ताहरुले,
भरखरै आयातीत कोब्रा सर्पहरु
मेरा सपनाहरुलाई
डस्ने योजना कोरिरहन्थे
र ऊ धाप मारिरहन्थ्यो
उनीहरुको पिठयूँ,
आकाशका ताराहरु टिप्ने
सपना देख्न पनि नपाइने,
भोकाएका आफन्तहरु
अघाएको आकांक्षा पाल्न पनि नपाइने
उसको चाहनाझैं
समान सपनाहरु बोक्ने
मनका पुलहरुमा
मैले बम फालेर ध्वस्त गर्न सकिन,
एकाथरीहरुसँग सपारे पछि
अर्कोसँग टुट्दो रहेछ
मनहरुको पुल ।

                     

उसको र मेरो बीच
ओजोन तहझैं ढाकिएको छ
अविश्वासको बादल ।

       

No comments:

Post a Comment