Tuesday, January 24, 2017

भरखरै जस्तो लाग्छ - मातृका पोखरेल

भरखरै जस्तो लाग्छ
मैले उसलाई चोर औंला उठाएको
यही चौतारोमा हो ।

हामी चौतारोमा बसेर
जब सपनाका कुरा गथ्र्यौं
हाम्रा दुस्मनहरू
त्यो चौतारोमा आउन डराउँथे
त्यो बाटो हिँड्नै डराउँथे
हामी त्यही चौतारोमा बसेर
भविष्यका कुरा गथ्र्यौं
सन्ततीका कुरा गथ्र्यौं
भोकाएकाहरूको कुरा गथ्र्याैं
तर उनीहरू हामीसँग तर्केर हिँड्थे ।

के भइरहेको छ ?
आफैंलाई घेरेर बसेको छ
यतिबेला शङ्काको बादल
घरिघरि आफैंलाई विश्वास लाग्दैन आफैसँग
फेरि आँखा मिचेर त्यही चौतारोमा हेर्छु
मैले हिजो त्यही चौतारोबाट
चोर औला उठाएका ऐतिहासिक दुष्मनहरू
त्यही चौतारोमा घुमिरहेका थिए
फेरि आँखा मिचेर हेर्छु
उनीहरू त्यही थिए
कसैले हातमा अक्षता र चन्दनको थाली बोकेका थिए
कसैले हातमा फूल र फूलका मालाहरू बोकेका थिए
जति–जति मानिसहरू थिए त्यहाँ
हामीले चोर औंला उठाएकाहरू नै बढी थिए
हाम्रो चौतारोलाई उखेल्नेहरू नै बढी थिए ।

आस्थाका इट्टाहरू जोडेर बनाएको
श्रमिकहरूको लागि सियाल ताप्न बनाएको
नयाँ पाउला पलाउने ऋतु आउन तरखर नहुँदै
पुराना पातहरू क्रमशः òरिरहेका छन्
सुक्दै गएका हाँगाहरूमा
चराहरूले गुँड लाउन छाडिसकेका छन् ।

इतिहासको यो कुइनेटोमा
एक हुल हामी मान्छेहरू
पुनःनिर्माण गर्न खोजिरहेका छौं
हिजो अस्तीकै जस्तो
त्यो चौतारोको रहरलाग्दो बैंस ।

भरखरजस्तो लाग्छ—
मैले उसलाई
हाम्रो दुस्मन भनेर घोषणा गरेको
यही चौतारोमा हो ।

No comments:

Post a Comment