Tuesday, January 24, 2017

मैले उतिबेलै भनेको थिएँ – मातृका पोखरेल

यतिबेला मेरा साथीहरु
आफैंले भरखर घोषणा गरेको
नयाँ देवता फुटाईरहेका छन् ।

मैले उनिहरुलाई त्यसबेला
यात्राको एउटा मोडमा भेटेको थिएँ
मैले भेट्दा उनिहरु
संगसंगै हिडेको एउटा यात्रीलाई देखाएर
“ऊ देवता भयो” भनिरहेका थिए
उसलाई पूजा गर्न
पूजा सामाग्रीहरुको जोहो गरिरहेका थिए
मैले उतिबेलै भनेको थिएँ
मान्छे देवता हुनै सक्दैन
मान्छेलाई देवता बनाउनु पनि हुँदैन
कहिलेकाँही मान्छे देवता भएपछि
उहिलेको रुसको जार जस्तो पनि हुनसक्छ
हाम्रै देशको राणा र शाहजस्तै पनि हुनसक्छ
कहिलेकाँही हामीलाई खेलौना जस्तै ठानिदिन सक्छ
हाम्रो आत्मसम्मानलाई ठाउँ कुठाउँमा डस्छ
मैले उनिहरुलाई आफन्त ठानेरै भनेको थिएँ
मान्छेलाई देवता बनाउनु
कहिलेकाँही आफनै खुट्टोमा बन्चरो हान्नु हो
मेरो कुरा सुनेर
उनिहरु रिसले चुरचुर भएका थिए
मलाई सराप्दै आफ्नो बाटो लागेका थिए ।

फेरि मैले उनिहरुलाई
यात्राको अर्कै कुइनेटोमा भेटेको थिएँ
मैले भेटदा उनिहरु
आफैले भरखरै घोषणा गरेको
नयाँ देवता फुटाईरहेको थिए
उसको शरिरका सवै बस्त्रहरु फुकालेर
मानौ कुनै अदभुत जनावर
आविष्कार गर्न खोजेझै
उनिहरु देवतालाई कुरुप बनाईरहेका थिए
देवता नाङ्गिएको खुसियालीमा
नजिकै बसेर भोज खाईरहेको थिए
मैले फेरि उनिहरुलाई अनुरोध गरेँ
उसलाई नङ्ग्याउनु भन्दा
देवता वनाउनु भन्दा पहिलेको
मान्छेनै रहन दिनू
मैले फेरि भनेको थिए
फेरि उ संग गर्नै पर्ने छ लामो यात्रा
उनिहरु फेरि मसंग रिसले चुरचुर भए
मलाई राताराता आँखा पारेर हेरे ।

मेरा साथीहरुलाई
देवता बनाउन पनि हतार
देवता फुटाउन पनि हतार
यात्रा गर्न पनि हतार
पछुताउन पनि हतार
मैले त उतिबेलै भनेको थिएँ
सबै कामहरु साचेर गर्नु
उनिहरु रिसाएका थिए त्यसबेला ।

यतिबेला मेरा साथीहरु
आफैले भरखर घोषणा गरेको
नयाँ देवता फुटाईरहेका छन ।

No comments:

Post a Comment