Tuesday, January 24, 2017

नागार्जुनको सर्प - मातृका पोखरेल

नागार्जुनबाट यात्रा थालेर
एउटा विषाक्त हरेउ सर्प
हरेक दिन बिहान
जंगबहादुरको शालिकमा
जब पूजा गरेर फर्कन्छ
मलाई प्रयेक सपनामा ऐंठन हुन्छ ।

प्रेमपुर्वक गुँडमा बसेका परेवाहरु
ऊ पटक्कै मन पराउँदैन
रुखका पातहरु जस्तै भएर
गुँडभित्र पस्छ
 र उनीहरुलाई डस्छ,
चौरमा खुशी मानेर खेलीरहेका नानीहरु
ऊ ईष्र्याले भुतुक्कै हुन्छ
चौरको घाँस जस्तै नदेखिने भएर
नानीहरुका खुट्टामा डस्छ,
धानका कलिला गाभाहरुमा लुक्छ
र किसानहरुलाई टोक्छ,
हाम्रा सपनाहरुको हत्यागर्ने
कार्य सूची बोकेर
ऊ अचेल प्रत्येक दिन
जङ्गबहादुरको शालीकलाई पूजा गर्छ ।

म आतङ्कित छु
सडकमा मानिसहरु आतङ्कित छन्
गाउँहरु आतङ्कित छन्
तर किन आतङ्कित छैनन् ?
सिंहदरवारका बैठकहरु,
किन त्रसित छैनन् ?
राष्ट्रिय पार्टीका भेलाहरु ,
समाचार सुनेर पनि
किन मौन छन ?
तारे होटलमा गरिएका
सहमतिका माइन्युटहरु ,

मेरो अघिल्तिर
हरेउ सर्पबाट बारंबार लखेटिएका
त्रासद दिनहरु
चलचित्रका रिलहरु झैँ घुमिरहेछन्
हिजो आजको नयाँ बिहान
एउटा खतरनाक समाचार बोकेर
हाम्रो आँगनमा झुल्किन्छ
र ऊ हाम्रा मुहारका खुशीहरु बोकेर भाग्छ ।

आज बिहानै
नागार्जुनबाट यात्रा  थालेर
एउटा विषाक्त हरेउ सर्प
अपाङ्ग चेतना भएको बस्तिको निर्माण गर्न
जङ्गबहादुरको शालीकलाई पूजा गरेर फक्र्यो
भोपाल ग्यास  दुर्घटनामा
चुहिएको ग्यास जस्तै
खतरनाक बतास उडिरहेको छ
मेरो वरिपरि
त्रासद भबिष्यलाई रोक्न
अब बुन्नु पर्ने छ मैले नयाँ योजना ।

             ०

No comments:

Post a Comment