कविता
जूठो थाल !
त्यो थालमा
आमाले खाना पस्केर
कपाकप खानुहुन्थ्यो
म सोध्थे,
आमा !
बाकाे जूठो थालमा किन खानुहुन्छ ?
आमा, फिस्स हाँसेर टारीदिनु हुन्थ्यो
निरक्षर मेरी आमालाई
हजूरआमाले जे गर्नुभयो
त्यसैको निरन्तरतामात्र थाह थियो
र, त आमाको लागि त्यो जूठो थाल
त्यतिनै प्यारों थियो ।
मैले बालाई सोधें
बा ! तपाईको जूठो थालमा
आमाले किन भात खानुहुन्छ ?
बा अलिक रसिक हुनुहुन्थ्यो,
र भन्नुभयो,
जूठो थालमा खाए पछि माया वढ्छ नि त
बालसुलभ मेरो दिमागमा कति कुरा आएका होलान ?
मैले फेरी फ्याट्ट बालाई सोधिहाँले,
बा !
आामालाईमात्र तपाईको माया लाग्ने हो कि ?
तपाईलाई पनि आमाको माया लाग्छ ?
बा एकछिन गम्भीर हुनुभयाे
र,
फ्याट्ट जवाफ दिनुभयो,
मलाई तेरी आमाको माया नलागेको भए
तिमीहरू हुन्थौ र ?
मैले कुरो बुझिन र,
बुझ्ने कोशिष पनि गरिन
बरू अर्कों प्रश्न सोधें बालाई
अनि बा ! त्यसो भए
तपाईले किन आमाको जूठो थालमा
खाना नखाएको त ?
बाले
झर्किदै भन्नुभयो
हरे ! कस्तो कुरा गर्छ यो !
आईमाईको जूठो पनि
लोग्ने मान्छेले खान्छन् ?
म निशब्दः भए
चुपचाप बाको
अनुहार हेरिरहें
अहिले
हामीले बा-आमाको त्यों परम्परा
तोडेकाछौं ।
र, त हामी
दोहोरो प्रेम झांगियोस भन्नाको ख़ातिर
एउटै थालमा संगै
खाना खाने बानी बसालेका छौं !
••
No comments:
Post a Comment