कविता
तिम्रो जवाफ
गोधूलि साँझको रक्ताम्य आकाश
बथान गिद्धहरू देखिन थालेपछि
छिटोछिटो त्रि्रो पत्र खोलेर हेरेँ
हेर्दाहेर्दै अक्षरहरू बग्न सुरु भए
पन्चाक्षरको आतङ्कको यो मौसममा
तिम्रो उत्तर कुन ठाउँबाट सुरु गरौ ?
हेर न,
साक्षी राखेको पिपलबोट
थकाइ विसाएका ती पाटीहरू
आज भत्काइँदै छन्
नारायणी, बाग्मती अनि सेती लुटिएका छन्
मानव बस्तिभित्र मौलाएका यी दानवहरू
आफ्नै खाल्डो खन्दैछन्
कोतर्दै छन् आफ्ना अनुहार विभत्स देखाउँन
इतिहास यसरी नै दोहरिने गर्छ
आफूलाई महान् ठान्नेहरू
कुन खण्डहरमा पुरिएका छन्
तिमीले पढेकै हौली
हिटलर, नेपोलियन अनि आफ्नै जंगेलाई !
यतिखेर तिमी
आफ्नो माटोका निम्ति उभिन खोजिरहेछयौं
म सम्मान गर्छु यो माटोलाई
त्यो माटोलाई मेरो सलाम सुनाइ दिनु
कुनै बेला मैले दुइ थोपा पसिना चुहाएको थिएँ त्यहाँ
अब त केवल स्मृतिमात्र रहृयो
त्यहाँ त रगतको होली पो खेल्न थालियो रे !
कोरिरहे नयाँ रगतका रेखाहरू विश्व मानचित्रमा
बग्यो नदीमा रगत !
देश बोकेर बन्दुकहरू मसानतर्फ गइरहृयो
यतिखेर
तिमी रोइ बसेकी छ्यौं, म रोइ बसेको छुँ
सारा देश आँसुमा डुबेको छ
दुःखिरहेको यो समयमा प्रिय
तिम्रो उत्तर लेख्न बसेको छु
विन्ति छ,
मेरो मायाको चिनो
एक अञ्जुली घाम बचाएर राख है !
000
No comments:
Post a Comment