Sunday, July 2, 2023

मोदनाथ मरहट्टा

मोदनाथ मरहट्टा ( उदय गाउँले, एम बटुवा )
पिता/ माता:- पद्मनिधी/ सुभद्रा
जन्मस्थान:- हर्मी ( हाल सिरान्चोक-३, गोरखा
पढाइ:- आइ ए
पेशा:- निबृत शिक्षक

प्रकाशन भएका किताबहरु:-
क) पाइलाहरु शिखरतिर उकासिदै गर्दा ( कविता सङ्ग्रह २०५५)
ख) उज्यालो जन्मनु अघि ( लघुकाव्य,२०६२)
ग) लेख्ने बिषयको खोजी ( निबन्ध सङ्ग्रह २०७८)

सम्पादन:- जनदीप २०४९, उत्प्रेरणा मासिक २०५३-२०५६ फूलको डोलि२०६०-२०६३ , नयाँराज्य दैनिक २०६८-२०७०, जगत श्रेष्ठका निबन्ध र कविता सङ्ग्रह २०७०, थुप्रै बिद्यालयहरु र उ वा सं का स्मारिकाहरु

आबध्दता:- 
अ ने ज सा सङ्घ के स सचिव
इच्छुक साँस्कृतिक प्रतिष्ठान कार्य समिती सदस्य

पुरस्कार/सम्मान: :- इच्छुक पुरस्कार
साहित्य सङ्गम गोरखा, शारदा देउराली पाक्षिक, साहित्य सङ्गम चितवन, रत्ननगर न पा चितवन , बाल्मिकि साहित्य प्रतिष्ठान
जेल जीवन:- २०५८ माघदेखी २०६० जेठ

---------------------------------------

कविता 

दार्चुलाको खोँचमा


सिंहदरवारको आँखाले

कहिल्यै देख्दैन दार्चुलाको खोँच

अनुभूत गर्दैन त्यसको भोक

घण्टौं टाढा छ स्वास्थ्य चौकी

नियुक्त चिकित्सकहरु

सिँहदरबारम नै हाजिर छन

हुलाकले पुर्‍याउँछ तलबी भर्पाइ

एउटा स्वास्थ्य सहायक पनि

कहिले बिदा र कहिले काज

न सेवा न औषधी

कार्यालय सहायकको नियमित गुनासो ।


दार्चुलाको खोँचमा 

प्रत्येक चारबर्षमा फराउँछ

घामको झण्डा उम्रने गर्छ बुढो रुख

उफ्रिनछ गाई गढ्छ हलो

नयाँ  भनेर पुग्छ आँसी र होत्रो

दिन्नन यिनिहरुले फित्तेजुकाको दबाइ

भुराभुरीको स्कुले पोशाक

गाभिनी आमालाई आइरनको चक्की

बरु उधारो दिन्छन बाटो बिजुली र पानी

दार्चुलाको खोँचमा

प्रत्येकबर्ष साउन रिसाउँछ

प्रत्येक चैत्र बायु रिसाउँछ 

र जन्मन्छ महामारी

पुरिन्छन स्कुले भुरा

खस्छन भिर टाकुरा

अनि आयोग बनाउछ सिँहदरबार

दार्चुलाको खोँचमा जब हुर्किन्छन चेलीहरु

झोला भिरेर फिर्छन झेलीहरु

झर्छन अत्तरियाको काँठ

तर्छन गड्डाको ढाँट । 


दार्चुलाको खोँचबाट

टोपी पहिरनेहरुको हुल 

काला पहाडमा डोको बोक्छन

डल्ला ठोक्छन 

आमाहरु उमार्छन आलु सिमि र कागनु 

अनि विनिमय हुन्छ धार्चुलाको मदिरासित

लाटो सिंहदरवार उभिइरहेछ उसैगरी  ।


000 

No comments:

Post a Comment