Monday, July 3, 2023

प्रह्लाद पोख्रेल

 



कविता

आँखा

आँखामा दिव्य दृष्टि प्रकट हुन सके देख्न पाइन्छ धेरै
भाषामा सूक्ष्म दृष्टि प्रखर हुन सके लेख्न पाइन्छ धेरै
आँखाको तीक्ष्ण भाषा हृदयतिर सरोस् भावना स्वच्छ बन्दै
नेपाली एकतामा सबल पथ मिलोस् दृष्टि अन्धो नबन्दै l१l
स्वेच्छाचारी छिमेकीसित कति सहने दुष्टताको छ खानी
चौपट्टै लुब्ध गिद्धे नजर छ जसको ताक्छ हाम्रै जवानी
चोखो राम्रो जवानी बिटुलिन नदिने स्पष्ट खोजौं उपाय
छाडी आफ्नो सुरक्षा कति दिन यसरी बस्दछौ निस्सहाय ? l२l
आँखामा बग्छ आँसु प्रतिपल कसरी रोक्नु के हो उपाय ?
पीडाको स्रोत रोक्नै अति कठिन हुँदा बन्छ को खै सहाय ?
यो पीडाबाट मुक्ति प्रगतिसित मिलोस् प्रेम-सद्भाव छाई
हर्षाश्रु-स्रोत बर्सोस् युगल नयनमा मित्रता सल्बलाई l३l
ढुङ्गो आई थिचेझैँ सरल हृदयमा सास रोकी सताई
के हेर्ने क्रूरताको चरम गतिसँगै यातना आततायी ?
यो घाती क्रूरताको अब त मिति पुगोस् यातना दूर पारी
आनन्ददायी अनुपम गतिला दृश्य आँखा उघारी ।४।
जो गाँठो पर्छ हाम्रो मुटुतिर पहिले के गरे फुक्छ होला
यात्री निर्विघ्न आफ्नो गतिसित कहिले लक्ष्यमा पुग्छ होला
यस्ता यी दृश्य आफ्नै युगल नयनले हेर्न पाऊन् अवश्य
आँखा यी चम्चमाऊन् चमक अझ थपी पूर्ण खोली रहस्य ।५ ।
कर्के आँखा लगाई चरम कुटिलतासाथ जो बोल्छ बाङ्गो
देखाई दूध सेतो तर गरल मिसी खेल्छ जो खेल नाङ्गो
अर्कै राखी इरादा प्रकट तर हुने ठिक्क पारेर भाका
नङ्ग्याई खेल यस्ता सजग हुन सकून् स्वस्थ आँखा चनाखा ।६।
पारी टुक्रा कलेजो वितरण नगरी आपसी खण्ड-खण्ड
सग्लो अस्तित्व हाम्रो अमृतमय बनोस् देश पारौं अखण्ड
आँखाले दृश्य हेरून् प्रगतिमय बनी एकता सग्लिएको
आफ्नै आलोक पाई सहज गतिसँगै सभ्यता अग्लिएको ।७।

000

No comments:

Post a Comment