Monday, July 3, 2023

बिन्दु शर्मा

 


कविता
 

ओक्कल दोक्कल पिपल पात


आमा
ओक्कल दोक्कल पिपल पातको
रमाइलो खेल खेलाउँदै
सधैँ झुक्यायौ र सोधिरह्यौ
तिम्रामाथि कसको हात ?
बालापनको रमाइलोमा
पहिचान गरेरै पनि भाइको हात
पटक पटक परास्त भइरहेँ म
झेली गरिरह्यो भाइले
मौन भइरह्यौ तिमी
तिमीले किनिदिएको
साइकलको रफ्तारमा
लाखौँ माइलको दुरी
पार गरिसक्दा उसले
मचाहिँ तिमीले नै ल्याइदिएको
कुरुस र एक लच्छी उनको धागोलाई
सिँगारेर सिपालु औँलाहरूमा
जिन्दगीको सादापनलाई
भरिरहेँ रङ्गिन बुट्टाहरूले र
खुम्चिरहेँ त्यसकै गोलो परिधिमा
अझै मौन भइरह्यौ तिमी
मैले लुकेरै उडाउँदा च्यातिएको
भाइको पुरानो चङ्गाको मोल

चड्कनले सम्झाएकी तिमीले
थाह पाइनौ आमा
चङ्गासँगै उन्मुक्त हुन नपाई
पाउजुको छमछमी पछ्याउँदै
अगेनामा खरानी भएका
मेरा स्वप्निल रहरहरूको मोल के थियो ?
प्रत्येक महिना केशसँगै छाँटिरहँदा
भाइले आफ्नो धीरता
मैले भने चुल्ठोसँगै कस्दै लगेँ
र रिबनको फूलजस्तै फुलाइरहेँ
ओठमा बनावटी हाँसो
तर पनि मौन भइरह्यौ तिमी
किशोरी वयमै
पाकेको किम्बुजस्तो कोमल तनमा
अनजानमै कोरिदिँदा कसैले
रातो मसीका कुरुप धर्काहरू
फेरि पनि नवीकरण भइरह्यौ
हाम्रो आँसुमा नुहाएको समृद्ध सम्झौता
र त जामाको फेरमा टाँस्सिन आएको
सेतो पुतलीलाई जस्तै
टपक्कै टिपेर मेरो आकाशलाई
सजिलै मिल्काइदियौ
अनि मौन भइरह्यौ तिमी
हिँडिरहेँ म तिम्रै गोरेटोमा लुरुलुरु
खोजिरहेँ सङ्घारभन्दा माथि उकाल्न
आफ्नो चाहनाको दियो

आमा
मुक्त गर मलाई तिम्रो प्रभावबाट
अब त भनिदेऊ बहिनीलाई
ओक्कल दोक्कल पिपलपात
तिम्रामाथि तिम्रै हात

000



No comments:

Post a Comment