Wednesday, February 26, 2025

मनप्रसाद सुब्बा

 

मनप्रसाद सुब्बा
कविता

उज्यालोको आँखा

उज्यालो उघ्रेको आँखा म
ओथ्रामा अन्डाको खोस्टा चुच्चोले भित्रैबाट छेंडेर
संसार चिहाइरहेको चिङ्नाको आँखा हूँ म
बालुवामुनि लुकाइराखेको अण्डाभित्रको अन्धकार फोरेर
खतराहरूसित खेल्न बाहिर निस्केको कछुवाको आँखा हूँ म
उनीहरूले ओढेका अन्धकारको कालो ओभरसाइज लबेदालाई
मेरो आँखाको म्यानबाट झिलिक्क निस्केको उज्यालोको तरवारले
ह्वार्लाङहुर्लुङ पारिदिन्छ...
अनि एक हत्केलाले लाज छोपेर,
अर्को हातले उज्यालो छेक्न खोज्दै भाग्छन् ती
तर त्यतिन्जेल उज्यालो फैलेर कहाँकहाँ पुगिसकेको हुन्छ !
उज्यालोको शक्ति कति हो कति !
उज्यालो भनेको --
आकारहरूको अनन्त लय,
आकृतिहरूको नौलो नौलो कोरियोग्राफी,
रङ्गहरूको रमाइलो उत्सव
निदाइराखेको अवस्थामा पनि देखिने सपना
अन्धकार भन्नु बस अन्धकार न हो
जसको जन्मै पनि हुँदैन
त्यसैले, त्यसको अस्तित्व हुँदैन
अस्तित्वहीनताको नाम हो अन्धकार,
जसले अरूको अस्तित्वलाई स्वीकार्न पनि सक्दैन
तर उज्यालोको उघ्रेको आँखासित यो सधैँ हारेको छ
अनि हार स्वीकार नगरेर भागिरहन्छ यो
फेरि मौका पाउनसाथ छोप्न आइपुग्छ
नङ्ग्याइएको छ यसलाई कैय्यौ चोटि
हजारौं आँखाहरू बलेर झलमल्ल उज्यालिएको सडकमा,
चारै दिशा एकैसाथ हेरिरहने ब्रह्मा उभिराखेको क्लक्-टावरको
फेदमा...

ओ साथी,
नडराई आँखा उघार त
अँध्यारो आफै भाग्छ !
तिम्रो आफ्नै ओडारमा
कहिलेदेखि सुतिराखेको त्यो चितुवाको आँखालाई ब्युँझाऊ
अनि त्यो झललल बल्दो आँखाले हेर्नु
कि अँध्यारो कस्तरी छ्याङ्छ्याङ्ती नाङ्गिन्छ..

000

No comments:

Post a Comment