Thursday, July 6, 2023

नानीमाया सुनुवार


 


कविता

 
मफलर

 
बुन्दै थिएँ
स्वयम् मलाई
मन पर्ने
बुट्टाहरू भरेर
पहिलो प्रयास
मन पराउनु भयो
मेरी हजुर आमाले
अनि
भन्नु भयो
म बाँध्ने छु
सपक्क घाँटीमा
मेरी नातिनीको
चिनो
यो
मफलर

भन्नु हुन्थ्यो
नातिनी
तिमी
पराई घर गएपछि
मफलर हेरेर
चित्त बुझाउने छु
म मुसुक्क
मुस्कुराई दिन्थेँ
हजुरआमा सामु
हजुर आँमा
के भनुँ भनुँ
झैँ गर्नु हुन्थ्यो
तर
कुरा मोड्नु हुन्थ्यो
हाक्पारे भाका गाउँदै
थपडी मार्दै
टाउको हल्लाउनु
हुन्थ्यो
त्यो हर्षले नै
मेरी हजुर आँमाको
खुसी देखिन्थ्यो
जीवन भोगाइ
अनि
चिनो त्यो
मैले बुनेर दिएको
मफलरमा

मलाई जन्म दिने
मेरी आमाको आमा
कति महान् हुनुहुन्थ्यो
आमा,हजुरआमा
भन्न पाउनु
मेरो सौभाग्य थियो
तर
पापी दैवले
हामीबाट छुटाएर लग्यो
मेरी हजुर आमालाई
अचानक
मात्रै सम्झनामा
सीमित राखिदियो
हजुर आमा
अनि
मफलर !
ooo

No comments:

Post a Comment