Wednesday, July 5, 2023

राजेन्द्रप्रसाद अधिकारी

 


कविता

पदक

पोहोरसम्म विरोध गरकै हो
विना आधार आफ्नाहरूलाई दिन्छन् भनेकै हो
यसपाली त हतार हतार दौरा सुरुवाल सिलाएर
पदक थाप्न पनि गएकै हो
फोटो खिचिदिने कोही नपाएर
यौटा सेल्फी आफैँले हानेको हो
साथी आखिर पदक त पदकै हो
यसपाली विरोध नगरौं कि भनेर चुप लागेकै हो

किन पाएको थाहा भएन
कुन श्रेणीको पाउनु पथ्र्यो, त्यो पनि थाहा भएन
तर साथी, यसपाली त मैले पनि पाएकै हो
सरकारले सिफारिश गरेछ, राष्ट्रपतिको हातबाटै पाएको हो

शीरमा, सरकार जस्तै कालो टोपी
शरीरमा, विचौलियाले नपत्याएका
साँसदहरूजस्तै सफेद दौरा सुरुवाल
गर्दनमा, राष्ट्रको बोझ जस्तै झुण्डिएको चमकहीन पदक, र
हातमा, आफ्नै घरको भित्ताले पनि नपत्याउने,
प्रयोजनविहीन प्रमाणपत्र च्यापेर
घर फर्कदै गर्दा, टेक्सीका चालकले सोधे-
“सर पदक त जितेर आउनु भएछ
तपाईंले खेल्ने क्लब चाहिँ हुन हो ?
तपाईंले खेलेको खेल चाहिँ कुन हो ?
साँच्चै सर,
तपाईंले पछारेको अर्को खेलाडी चाहिँ को हो ?”

०००

फोन : ९८५१०३८७८४

No comments:

Post a Comment