Thursday, July 6, 2023

इन्द्र रेग्मी




कविता


मलाइ कविता मन पर्दैन


उहाँ हाम्रो महामहिम नेता
हाम्रा ईश्वर
आफ्नो सर्वस्व ठान्छौं हामी
रातोलाइ सेतो
र सेतो लाइ कालो
बनाउने खुबी छ उहां संग
अत्यन्त शक्तिशाली हुनुहुन्छ
किसानका गैह्री खेत
र मजदुरका पसिना
सग्लै निलिदिनुहुन्छ
विकासका बजेट
र निकासका दररेट
सधैं उहाँको खल्तीमा हुन्छ
जाबो चुनाव त
नोट र चोटका भरले जित्नु हुन्छ
उहाँमा अर्को एउटा
अनुपम विषेशता छ
उहाँ कविता मनपराउनु हुन्न
भन्नुहुन्छ
जाबो कविता
न यसले भात जोरजाम गर्छ
न यसले घात गर्न सिकाउँछ
कविताले रेष्टुरेन्टको बिल पनि तिर्दैन
कविता लेख्नु भन्दा त
प्रशस्ति लेख्नु जाति
बरु जाली तमसुक लेख्न सिक्नु
मिथ्या भाषणहरू
टूपी बांधेर कण्ठ गर्नु
के दिन्छ कविताले
हाकाहाकी भन्नुहुन्छ
कविता सुन्नु भन्दा त
क्यासिनोमा बस्नु जाति
भट्टीमा पस्नु जाति
विरोधीको ढाडमा
मुक्का हान्नु जाति
र त सजिलै पन्छिनु हुन्छ
कसैले बोलायो भने
कविता सुन्नु
रोबका साथ भन्नु हुन्छ
म सुन्दिन कविता
कविता
हामी जस्ताको
विकासको विरोधमा बोल्छ
त्यसैले मलाइ कविता मन पर्दैन ।

000

No comments:

Post a Comment