Friday, July 14, 2023

विक्रम सुब्बा



कविता

सगरमाथा नाङ्गै देखिन्छ



कुनै छलकपटको चीसो योजना थाल्ने हो कि
या कुनै झुप्रोहरुको छातीमा सर्दी हाल्न हो ?
शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि
या कुनै गुराँसको कलकलाउँदो थुँगा अठ्याउन हो ?
आफ्ना केही सुकिला भारदार हिमालहरु लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडै पहाड घुइँचो घारीमा
सबैभन्दा माथि उछिट्टिएर फक्रेको
हिमालको थुंगा उदांगै देखिन्छ
जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !
प्रायः कुनै आरोहण दलको
पाइतालाले शीरमा टेकेको देखिन्छ
कहिले कुनै कुनै अराइएका चित्रकारहरुले
एकटुक्रा क्यानभासमा लेखेको देखिन्छ
बादलको थोत्रे बक्खु पनि फाटिसकेका
गौरवको बिचरो चुचुरो ह्वाङ्गै देखिन्छ
जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !
बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखाहरु
स्तुपहरुमा टाँसेर गुम्बाहरु हेरिरहेका छन्–
विदेशीको भरौटे भएका सपुतहरु,–
स्वदेशी डोकोमा विदेशी झण्डा बोकिरहेका छन्
नेपाली चुचुराको सिउँदोमाथि फरफराउन
ढुक्कै विदेशी झन्डाहरु उक्लिरहेका छन्
झोक्रिएर बसेको सिंगो हिमाल विवश र उदाङ्गै देखिन्छ
जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ !

000

पूर्ण विराम

 


कविता

वाक स्वतन्त्रता

 

मठको छेउमा आसन जमाउन
जडाउरी परिधान बक्सिस पाउन
सन्त भन्छ – मठाधीस असल छ ।
गाँजाको चक्करमा
अचानक मन्दिरको नजिकै पुगेको हुनाले
नरको रूधिर चाट्ने जिब्रो बोकेको भगवानलाई
गँजडी भन्छ – भगवान असल छ ।

शहीदको आलो रगत टाउकोमा थापेर
रन्को भित्र सडक भन्छ –
झीङ्गाको मूल्यमा शहीदको मोल स्थापित गरियो
जुन बर्दीले निहत्था मानिसको टाउकोमा गोली फोड्यो
त्यो वर्दी ओढ्ने शरीरको भूसूना समान मृत्यु हुँदा
किन वीरगति प्राप्त भएको घोषणा
तारको बाकसबाट गरियो?
बायाँ कुम नजिकैबाट गोलीको स्मरण गर्दै
एउटा मानिस भन्छ –
हजारौँ आँखामा आँसु भर्ने
कालो पुस्तक किन यथावत
काला दाँतहरु देखाएर
भद्दा हाँसो हाँसिरहेको छ अहिलेसम्म
हँसिया र घन अनि चारतारे रातो झण्डा
मेरो टाउकोमा गाडिएकोछ
तर प्रजातन्त्र दुई इन्च टाढा छ नेपाल भन्छ ।
घरहरूलाई कारागारमा परिवर्तन गर्ने नराधमहरू
लेवेण्डर दलेर बसन्तपुरमा घुमिरहेका छन्
तिनको नाडीमा हतकडी छैन
यसैले प्रजातन्त्र दुई इन्च टाढै छ नेपाल भन्छ ।

प्रत्येक बिहान र साँझ कोठाको पर्दामा
आएकै छ देव र देवीको वाणी
रातो, निलो, सेतो कालो अक्षरमा
छेपारोले पनि लाएकै छ रातो पोशाक
आसनमा यथास्थानमा छ राष्ट्रिय नाग
वाक स्वतन्त्रता भर्खरै पाएको छ नेपालले
यसैले नेपाल भन्छ – अहिले यस बेला
दुई इन्च टाढै छ प्रजातन्त्र ।


000

पूर्ण इन्फादा

 




कविता


सालिकको इतिहास निरीह सिपाही



उम्लिरहेको छ - घाम
काँपिरहेको छ - जाडो
निख्खर कालो छ-सडक
यही उपक्रममा उभिएर
रुँगिरहेको छ सालिक - एउटा सिपाही
इतिहास अभिलेखमा
तप्-तप्-तप्
रगत निचोरेर
उभिएको छ-सालिक
त्यही सिपाहीको टाउकोमाथि
झस्किरहन्छ समय
खरानी-खरानी इतिहासका पाइला हेरेर
बीभत्स क्रान्तिका मृत्युहरू सम्झिएर
रोइरहेको निरीह बालकतिर फर्किएर
कुनै कारुणिक र त्रासद
दुःखान्त नाटकको अवसान कथाजस्तो
मौन छ - वर्षौंदेखि
भयभीत यो सालिक
लाग्छ झर्‍यामझुरुम फुटेको छ- समयको मुटु
र हेरिरहेका छ - लज्जास्पद आँखाले
सशङ्कति समयलाई
समयको नतमस्तक एउटा हुल
आउँछ, हेर्छ र श्रद्धासुमन चढाउँछ
सालिकतिर फर्किएर
बर्र आँसु खसाउँदै
मर्यादापालकको अभिनयमा
समुस्कान हेरिरहन्छ-सिपाही
दुर्नियतिका प्लेकार्डहरू
स्मृतिकङ्क्रिट समयको अर्को कोरस
पुनः आउँछ, हेर्छ र भावोत्तेजक उभिन्छ
उही मर्यादापालको अभिनयमा
वक्रदृष्टि बन्दुक त्यतैतिर फर्काएर
नरसंहारको आलो रगत बगाउँदै
त्यही सालिकको निपुणता दोहोर्‍याउँछ - निरीह सिपाही ।

000

मीनबहादुर विष्ट

 



कविता


साला पहाड मे क्या है?


१. मुहानबाट निस्केर फुत्त
कहीं हुत्तिँदै कहीं थामिंदै
तर कहीं कतै पनि
पछाडि फर्केर
एक नजरसम्म
नलगाउँदै
बरु उल्टै दुई किनारहरुमा
सालिक झैं 
उभिएका रोगी पहाडहरुलाई 
लात हान्दै बेस्सरी 
भागिरहेछ नदी
देश छोडेर!

२. काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला र 
कम्मरमा
वर्षौदेखि शान नलगाई
खिया परेको 
खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई 
मूर्दाघर जस्तो घर
रुङ्न अह्राउँदै
पियारीहरुलाई साथमा लिएर 
हिँडिरहेछन् तन्नेरी छोराहरु
जनम ठाउँ छोडेर। 

३. बेमौसम
अज्ञात मुलुकबाट 
आएको बताससँगसँगै 
लहस्सिँदै र बतासिँदै
उडिरहेछन् दिशाहीन भएर
सुन्दर, मुलायम
फूलका कलिला कोपिलाहरु
र हरिया, नरम पातहरु
बिल्कुल नांगो र कुरुप पार्दै
पर्वतका शृंखलाहरुमा
लाम बाँधेर 
परेडमा उभिएका सिपाही झैं 
उभिएका वटवृक्षहरुलाई। 

४. लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका
परेवाका बथानहरु
सुकुम्बासी झैं 
खडेरीले शुष्क भएको छाती र 
बर्सातले निथ्रुक्क भिजेको जिउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाँसको ठेगान
बिल्कुल बेठेगान भएर
भौंतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा। 

५. त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा
निबन्ध लेख्न सकोस्
जस्तो कि
धेरै वर्ष
लाहुर खाएर 
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरु
'साला पहाड मे क्या है'
हो, केही छैन 'साला' पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा 
जस्तो-
नवजात शिशु मरेका आमाहरु झैं 
असाध्यै पीडामा आँसु बगाइरहेका
नदीका मुहानहरु छन्,
चटक्क माया मारेर हिँडे पनि नदीले 
अलिकति फोहोर पानी र 
केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टान झैं जमेका
केही पोखरीहरु छन्,
एक्कैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढीहरु छन्, 
अनुहार सक्किएका केही पर्वतहरु र 
यौवनमै ठहरै परेका 
केही वटवृक्षहरु छन् 
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै 
कलेजै कटाउने गरी 
घुरिरहेका सुकुम्बासी 
परेवाका बथानहरु।

000

Sunday, July 9, 2023

सरुभक्त



कविता 

बहुलाही आमाहरूको जुलुस


जुलुसमा कुनै झन्डा छैन
किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन
सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू
पिंजडामा तित्रा बोकेर
छाती भरिभरि
छातीमा नअटाउने गरी
'मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर
भण्डारखालतर्फ कूचमार्च गर्दा
जङबहादुरहरूको छालाको शिकार खेल्न
देशमा-
बहुलाही आमाहरूको जुलुस निस्केको छ ।


आमाहरू नाङ्गै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै लुगा लाएका छन्
आमाहरू भोकै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै अन्न खाएका छन्
आमाहरू मैला छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै पानी पिएका छन् ।


क्षितिजबरैको अतीतमा
कुनै बेला
आत्मबलिदानी छोराहरूको चिन्ताले
खग्रङ्ग वन डढेझैं
मन डढेका आमाहरू
त्यही डढेको मनमा
शाश्वत आस्थाका स-साना सिन्का उमारेर
देशका जुँगाहरू उल्ट्याउने खेल खेल्दैछन्,
बिनाहाँसोको चेतना
बहुलाही आमाहरू हाँस्दैछन्,
बिनाआँसुको चेतना
बहुलाही आमाहरू रुँदैछन्,
र बिनाजुलुसको चेतना
बहुलाही आमाहरू जुलुसमा हिंड्दैछन्


छोराहरू
जुगाहरूसित लड्दालड्दै जुँगा बने
आमाहरू बहुलाए,
छोराहरू सर्पहरूसित लड्दालड्दै सर्प बने
आमाहरू बहुलाए,
छोराहरू
ब्वाँसाहरूसित लड्दालड्दै ब्वाँसा बने
आमाहरू बहुलाए


जब जब इतिहास बोकेका छोराहरूले
भविष्य हराउँछन् र
वर्तमान-सूर्यका सप्तरङ्गी घोडाहरूलाई चाबुक मारेर
सद्दे आमाहरू बहुलाउँछन्


ए अब ती दिनहरू कति टाढा छन्
जब बहुलाही आमाहरूले
छोराहरूको घाँटी निमोठ्नेछन्
र राष्ट्रिय महाभारतको शान्तिपर्वमा
आफ्नै छोराहरूको लास चिन्न इन्कार गर्नेछन्...

000

स्वप्नील स्मृति

 


कविता 

सिंहदरबार



सिंहदरबारले
फेरि निषेधित क्षेत्र घोषणा गरेर
के-के बचाउन सक्छ ?


अश्वमेध महायज्ञमा फ्याँकिएको संविधान
बादशाहको मारिएको घोडा
समयले उखेलेको
श्री ५ महाराजधिराज तानाशाहको शालिक
नारायणहिटी चिडियाखानाको लोपोन्मुख जनावर
के सिंहदरबारले बचाउन सक्छ ?


दरबार भत्काउन भूइंचालोले अब
पर्खने छैन कुनै 'आइतबार'
दरबार जलाउन आगलागीले पनि
कुर्ने छैन कुनै अग्नि दिवश
दरबार बगाउन पहिरोले समेत
प्रतिक्षा गर्ने छैन कुनै खाडीको मनसुन
भने, के सिंहदरबारले अब
कुनै दरबार बचाउन सक्छ ?


सिंहदरबारले
फेरि निषेधित क्षेत्र घोषणा गरेर
क-कसलाई मार्न सक्छ ?


आन्दोलनमा घाइते विचार
आँधीजस्तो शहीदको सपना
ज्वालामुखीसमान जन-चेतना
व्यक्तिको सार्वभौमसत्ता
नागरिकको नैर्सर्गिक स्वतन्त्रता
जनताको अधिकार
अथवा
कोतघरको ख्याक-इतिहास-
क-कसलाई मार्न सक्छ ?


लङ्का दरबार खरानी भइरहेछ
भुङ्ग्रोको चम्किलो आगो
निभ्ने छैन कुनै जुद्ध बारुण यन्त्रको विषालु पिसाबले
भने,
दुर्गन्धित टुकुचाको पानी उत्सवमा
स्वयं आगो भएर
सिंहदरबारले के आगो मार्न सक्छ ?


सिंहदरबारले
फेरि निषेधित क्षेत्र घोषणा गरेर
के-के बचाउन सक्छ ?
के-के मार्न सक्छ ?


सिंहदरबारभित्र
व्यवस्थाको सिनो अझै गनाइरहेछ
र भन्किरहेछन् रङ्गीचङ्गी झिंगाहरू
भने,

सिंहदरबारले एउटा झिंगा मार्न सक्छ ?


000  




टंक वनेम

 



कविता 

बेलाको माग


बादशाहलाई घोडाबाट खसालेर
बादशाहको ढाल, तरवार
बादशाहको गोला, बारुद
अनि-
बादशाहले भिरेको बन्दुक खोस्नु पर्छ
घोडाबाट खसेको बादशाह
निरस्त्र भएन भने
बादशाहले फेरि
दुन्दुभी शङ्ख फुक्नेछ
उस्को सत्ता सारथिहरु रथ हाँकेर
युद्ध मैदानमा हाजिर हुनेछन्
उस्का अक्षौहिणीहरु
महासमरमा तम्तयार हुनेछन्
फेरि महा संग्राम हुनबाट बचाउँन
बादशाहलाई
शङ्ख फुक्न नदेऊ
बादशाहलाई
निशस्त्र पार ।


बादशाहले फेरि
टाउको उठाउँन नसकोस्
बादशाहले फेरि
जल्लादी रुप धारण नगरोस्
बादशाहले फेरि
दुनियाँ स्वास्नी मान्छेहरुको
सिन्दुर नपुछोस्
बादशाहका शिकारीहरुले
मन्दिरको प्राङ्गणमा
निर्दोष मान्छेहरुको
शिकार नगरोस्
बादशाहका भजन मण्डली र
उस्का चाटुकारहरुले
भ्रमको खेति नगरोस्
बादशाहका शकुनिहरुले
जनताको छाँतीमा
पासा नखेलोस्
जनताले खोसेर
बादशाहको दुन्दुभी शङ्ख
फुटाई दिने बेला हो यो
बादशाहलाई
बादशाह नबनाएर
असल नागरिक बनाऊ
असल नागरिकले मात्र
दुनियाँले चाहेको
एउटा असल देश
बानाउँन सक्छ ।

000

Saturday, July 8, 2023

कृष्ण प्रसाई

 



जन्म मिति : बि.स: २०१७\७\२८
ठगाना अनामनगर काठमान्डौ ~२९
शिक्षा स्नातकोत्तर द्वय नेपाली र समाजशास्त्र
पहिलो प्रकाशित कविताको शिर्षक : "बालक"
पत्रिका: सूर्योदय सप्ताहिक,भद्रपुर वि: स:२०३३
पहिलो प्रकाशित पुस्तकको नाम:

१"घाम नभएको बेला" कविता संग्रह वि स २०६२

अन्य पुस्तकहरू

२ छरिएका केही पृष्ठ सम्पादन वि सं २०४८
३ समसामयिक नेपाली कविताहरू बि.स.२०४८ सम्पादन
४ प्रक्षेपण कथा सॅग्रह बि.स.२०४८
५ अनुभूतिका छालहरू नियात्रा संग्रह वि सं२०६०
६ घामको वर्षा जेन कविता सॅग्रह बि.स.२०६२
(२४ भाषामा अनुदित जेन कविता सॅग्रह)
७ घामको विरासत कविता सॅग्रह वि सं २०७४
८ Never say good bye
 (नेपाली कविताको अंग्रेजी अनुवाद वि.सं २०७५)
९ घामको आयु जेन कविता सॅग्रह वि.सं २०७९
१० सम्झनामा तारानाथ शर्मा संस्मरण सम्पादन २०७९
कविता किन लेखियाे : नजान्दा नजान्दै कविता लेखियाे।
संलग्नता : जरा फाउन्डेसन नेपाल

पुरस्कार सम्मान

१ यु एन एफ पि ए पुरस्कार
२ धरणीधर कोइराला पुरस्कार
३ योगी नरहरिनाथ पुरस्कार
४ उत्कृष्ट विध्वत छात्रवृति
५ भारत रत्न सम्मान


इमेल  krishnaprasai2017@gmail.com
सम्पर्क मोवाइल ~ ९८५१०३३२८३



-----------------------------------------------------------

कविता 


म रोएको दिन

संसारभर खुसीको माहोल छाएको थियो
धेरैले पटका पड्काएर उन्मुक्त उत्सव मनाइरहँदा
म भने बेचैन भएर सन्तापले सुस्ताइरहेको थिएँ
म रोएको त्यो दिन
अर्थात दुई हजार दस, वैशाख सत्र गते बुधबार ।

न्युजिल्यान्डको एउटा मान्छेले मेरो शिर कुल्चियो
आफ्नै देशको टाउको टेक्ने अर्को
मेरै देशको भरिया थियो
कालान्तरमा ऊ पनि विदेशी नै भयो ।

मैले जानेको सत्य एउटै छ -
हामीभन्दा माथि हिमाल छ
हिमालभन्दा माथि देश
हिमाल र देश भएकैले हामी छौँ ।

तर जुन दिन हिलरीले राख्यो पैताला सगरमाथामा
र तेन्जिङले टेक्यो आफ्नै टोपीलाई
देशभन्दा माथि अरू नै भए !

देउता मानेको सगरमाथा सर्माएको त्यो दिन
संसारले मुकुट ठानेको
हिमाल हारेको त्यो दिन
महानता मुर्झाएको त्यो दिन ।

हो, त्यसै दिन म रोएँ
मेरो कद सानो भएकोमा म रोएँ
पराई पदचाप परेकोमा म रोएँ
मेरो टाउको टेक्नेलाई नै तिमीले महान बनाएकोमा म रोएँ ।

टाउको कुल्चनेलाई म कसरी महान भनुँ ?
अहिले पनि कुल्चिरहेछन्
र जुठाका पिरामिडहरू थुपारिरहेछन् ।

मेरो प्रश्न छ तिमीसित देश !
मन्दिरको मूर्तिमाथि पाइला टेकेर
मन्दिरमा चढाएको भेटीले
तिम्रा कुन ईश्वर खुसी होलान् र ?

तिमी जे सुकै भन
म मान्दै मान्दिनँ कुन कानुनमा शुल्क बुझाएपछि
शरीरको शिर टेक्न पाइन्छ ?

कुन नियममा पैसा असुलेपछि
गजुर कुल्चन पाइन्छ ?
भन, कुन कानुनले
तिरो तिर्दैमा
छाती छेड्न पाइन्छ ?

म अहिले क्षोभ र घृणाले आक्रान्त भिजेको छु
तिम्रो देशको विधानसित !

000

कुसुम ज्ञवाली

 


कविता 

बाघ, चिडियाखाना सहर


हामीलाई राम्ररी थाहा थियो
जस्तै सङ्कटग्रस्त भए पनि
बाघको सिङ्गै प्रजाति
ऊ हिंस्रक र नरभक्षी हुन्छ,
तर पनि
हामीले निधो गरेका थियौं,
त्यसलाई चिडियाखानामा पाल्ने
किनकि
उसले कहिल्यै मागेन हामीसँग


अग्ला महलका वैभव, ऐस र आरामहरू
करोडौंका पाँचतारे लञ्च र डिनरहरू
बाघको छाला वा गैंडाका खागहरू
राजधानीको मुटुका चौडा घडेरीहरू
क्यासिनोमा जुवा खेल्न करोडौं रुपैयाँ
मात्र उसले माग्यो


प्रकृतिले तोकेका केही मासुका टुक्राहरू
निरपेक्ष गरिबको घरजस्तै
पानी चुहिने एउटा ओडार
विकट दुर्गमको अनकन्टारमा
एउटा सानो जङ्गल
अनि पानीको एउटा सानो पोखरी


त्यसैले,
हामीलाई आपत्ति भएन
र, पाल्यौँ एउटा हिंस्रक बाघ
हाम्रो चिडियाखानामा


कसरी सकिन्छ एक्काइसौं शताब्दीमा
बाघ पाल्न एउटा व्यस्त सहरमा
जसले मागिरहन्छ
प्यास मेटाउन हरेकपल्ट
देशभक्त मानिसको आलो रगत
सेता महलमा सजाउन
युगनिर्माता कालीगढहरूकोर्
भर्खरै काटिएको टाउको
उत्कृष्ट कलाकारहरूका
भर्खरै काटिएका हातहरू
त्यसैले हामीले
निर्माण गरिसक्यौ
अब सिध्याउनु पर्छ
सहरको नरभक्षी जनावरलाई
यसको सिंगै वंश परम्पराहरू


सम्मान गरेर इकोसिस्टमको सहअस्तित्व
हामीले निमिट्यान्न पारेनौँ
जङ्गली बाघको अस्तित्व
किनकि,
जङ्गली बाघले कहिल्यै भत्काएन
प्रकृतिका गत्यात्मक संविधानहरूलाई
उसले स्वीकार गर्žयो
झरीमा निथ्रुक्क भिज्न
एउटा बुढो गरिब हलिया जस्तै
उसले बरु नाङ्गै बस्न स्वीकार गर्žयो
हाम्रो छाला काढेर
ओड्न खोजेन कहिल्यै
उसले भोकमा एकपेट भोजनबाहेक
हामीलाई निचोरेर
कुस्त सम्पत्ति थुपार्न खोजेन
उसले बेच्न खोजेन कहिल्यै
हाम्रा मन्दिरका पुराना मूर्तिहरू
उसले धन्दा गरेन कहिल्यै
प्रतिबन्धित कालो पदार्थको
त्यसैले ऊ बाँचिरहेछ अचेल
निर्धक्क हाम्रो चिडियाखानामा
नत्र सम्भव छैन अचेल
नरभक्षी जनावर पाल्न सहरमा
जसले ख्याल-ख्यालमै भत्काइरहन्छ
जीवनका अकाट्य सीमाहरू
जसले निर्धक्क लत्याइरहन्छ
मानवताका विश्वव्यापी मानकहरू
जसले निर्लज्ज आगो लगाइरहन्छ
नागरिकका स्वाभिमान र आत्मसम्मानहरू
जसले हाक्काहाक्की कुल्चिरहन्छ
हाम्रा आस्था र विश्वासका फूलहरू
त्यसैले
जनमतको शालीन ल्याप्चे ठोकेर
हामीले निर्माण गरिसक्यौं
समय फट्केमा साक्षी बसेको छ सिध्याउन
सहरको राजा ठान्ने
विक्षिप्त नरभक्षी एउटा जनावरलाई
वस्तीको स्वाधीन इतिहासबाट
कहिल्यै नर्फकने गरी खेद्न
सधैँ सधैँका लागि ।

000 

आहुति

 



कविता 

गणतन्त्रको क्षेत्रफल


अस्तिको साँझ
छिमेकीहरूमाझ
मैले धोएँ
करिब पाँच हजार वर्षमैलो
मेरी आइमाईको पेटिकोट
त्यो अकल्पित पलमा मूर्छित थियो औपचारिक समय
तर नाचिरहेथ्यो मेरी आइमाईको ओठमा
सुहाग रातको तृप्तिलाई उछिनेर
युगान्तकारी मीठो मुस्कान


आइमाईको मुस्कान
गोली थिएन
थिएन बम-गोला
तर जलिरहे मुस्कानको रापमा रातभर
गीता
बाइबल
कुरान
र त्रिपिटकका
अनगिन्ती श्लोकहरू ।


हिजोको मध्यान्ह
कुटुम्बहरूको रोहबरमा
आयोजना गरें
करिब पैंतीस सय वर्षपुरानो
पूजा कोठामा र्सार्वजनिक छलफल 
त्यो दुर्लभ घटनामा घाइते बन्यो परम्पराको इतिहास
तर सहभागी दलितका ठाडा रौंहरूबाट
फैलिरह्यो हरेक बासलाई टेकेर
कालजयी श्रमको सुगन्ध 


पसिनाको गन्ध
यातना थिएन
थिएन प्रताडना
तर पग्लिरहे श्रमको तापमा दिनभर
हैकमहरू
दासताहरू
ठालुतन्त्रहरू
र अन्धताका
प्रशस्त हिम-ढिक्काहरू ।


आजको बिहान
पछ्याएर बच्चाहरूको पाइला
बल्ल छाम्ने साहस बटुलें
रक्तधाराले लेखेर स्वागतम्
नयाँ युगलाई डाकिरहेको रक्ताम्मे सडक ⁄
यो दृश्य फगत बाल-रहर ठानिरहेछन् बुढा आँखाहरू
तर जीवनको प्रत्येक कण-कणमा
गुञ्जिरहेछ प्रौढहरूको बासी थकाइलाई लछारेर
शिशुहरूको निमन्त्रणाको नया“ गीत ⁄


यो निमन्त्रणा
बिन्तिपत्र होइन
होइन पागल प्रलाप
तर युग निमन्त्रणाको प्रतापले भत्किरहेछन् क्रमशः
राजतन्त्र
राजतन्त्र
राजतन्त्र
र राजतन्त्रका प्रत्येक दरबारहरू


000


अनमोलमणि



कविता 

बादशाहको मृत्यु

 

जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु

होस गर

छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु

खुले आम मारिने यौटा निरंकुश राजा

 

पाता कसेर काटिएका गोलीले उडाइएका छोराहरु

वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै

हातमा निर्दोष आफन्तका तस्वीर बोकेर

सकुशल फिर्तिको आहृवान गरिरहेका आफन्तहरु

रुँदारुँदा आँशु पनि सकिएर

निरस बनेका आँखा लिएर दरबारमार्ग हिँडिरहेका बेला,

वैंशालु छोराछोरीको झझल्को टाँसेर आँखामा

दोहोरो भिडन्तमा मारिएको जबरजस्ती सही छाप गरेर

लास बुझेको म्झिँदै अनसनको तयारी गरिरहँदा

फेरि पनि सरकारी लाठी बुटको चोट खेपेर थाप्लामा

दोषीमाथि कारवाहीको नारा लगाइरका बेला

भएको यौटा निरंकुश भोज

यो बेला टुक्रा टुक्रा व्युँतेर चिहानबाट

फस्फोरस बालेर हड्डीको

राँकेभूत भएर आउन सक्छन् उनीहरु

भन्नेछन् हरियो बाँसको झाँङ मुनी

राजदरबारको दक्षिण ढोकामा उभिएर-

'महाराज ! 

हाम्रो आत्माले घेरिसकेको यो दरबार

होसियार भाग्ने कोशिस नगर्नु !'

निर्दोष आत्माहरुको आक्रमणबाट मारिनेछ

यौटा निरंकुश राजा

 

ठीक त्यही बेला

दरबारकी महारानीको ीर्य कटकटिएको फरिया

पखाली रहेको सिपाही

वर्षौँदेखि न्यास्रो बसिरहेकी

आफ्नी श्रीमती म्झिँदै  

इतिहास बन्न लागेका चमेराहरुको गुँड हेर्दै भन्नेछ

राजदरबारको दक्षिण दक्षिण ढोकामा उभिएर-

'साला गद्दार !

ढोके, हुक्के छाते भएर होइन

नागरिक भएर मेरो स्वाभिमान बाँच्न चाहन्छु '

पड्काउनेछ उसले निशाना ताकेर

दरबारको मूल ढोका तिर खिया लाग्दै गएको

आफ्नो हातको पुरानो बन्दुक


000

मायामितु न्यौपाने




कविता 

तारा झरेको रात

मध्यरात
आकाशमा
ताराहरू खेलिरहेको
मनको झ्यालबाट देखेँ ।

हुँदाहुँदै
ताराहरू
तल ओर्लेर
वसन्तका हाँगा–हाँगामा
पातहरूसँग
व्यथा साट्न थाले ।


उनीहरूको आँसुभित्र
मैले आफूलाई छामेँँ
अनि उनीहरूलाई चिहाएँ
हावा आफ्नै संसारमा
खुसी टिप्न बहिरहेथ्यो
जून निसङ्कोच हिँडिरहेथ्यो
आकाश झन् निर्मल र शान्त ।

एक्कासि
एउटा तारा
मेरो झ्यालमा ठोक्किएर
भुइँमा खस्यो
क्रमशः ताराहरू झरे र
पातमुनि छोपिए
म भने
पात रेटिनु र तारा झर्नुको अर्थ
आफैँसँग खोज्न थालेँ ।

त्यही तारा सँगसँगै
पात उडेर
ऊ पनि त झरेकी थिई
जिन्दगीको भ¥याङबाट
आज मलाई सोध्न मन लागेको छ
बस्तीभरिका झ्यालसँग
किन खस्छन् यी पातहरू ?
किन झर्छन् यी ताराहरू ?

000

Thursday, July 6, 2023

प्रकाश सिलवाल

 



कविता


बोधिसत्व खोप

कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?
घरी कर्ममौरीहरूलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैँलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घन्टौँ कर्कश सम्बोधन गर्छ !
यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरूलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !
यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरू
प्रिय बुद्धभूमि विरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरू
सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरू !

000

केवल बिनावी

 



कविता


नागरिकता नं. १४०२७


तिम्रो खसानबाट
उहिल्यै खसालिएको
तिम्रो नेवाबाट
नीचको उपमा पाएको
तिम्रो मधेसबाट
देश खोज्न हिँडेको
म हुँ एक चोक्टो कागज
अर्थात्
नागरिकता नं. १४०२७ ।
बढार्दा बढार्दै तिम्रा बस्तीहरू
बढारिएको छु
यो राज्यको अनुहारबाट ।
फुलाउँदा फुलाउँदै
तिम्रा खेत, खलियान
उजाडिएको छ आफ्नै जीन्दगी ।
तुन्दातुन्दै तिम्रो राष्ट्रिय झण्डा
गुमेको छ आफ्नै राष्ट्रियता
म एक चोक्टो कागज
अर्थात्
नागरिकता नं. १४०२७ ।
तिम्रो राज्यको हर भूगोलमा
च्यातिएका छन् हरदिन
मजस्तै निरीह नागरिकताहरू ।
तिम्रो सत्ताको सोपानमुनि
कुल्चिइएका छन् वर्षौंदेखि
मजस्तै तिरस्कृत नागरिकताहरू
फगत् तिम्रो जनगणनामा सीमित
म एक चोक्टो कागज
अर्थात्
नागरिकता नं. १४०२७ ।
किन मालपोतका ढड्डाहरुमा
कहीँकतै भेटिँदैनन्
मजस्तै नागरिकताहरू ?
किन कुनै बैंकको
खातामा अटाउँदैनन्
मजस्तै नागरिकताहरू ?
किन राज्यको
बहसमा वर्जित छन्
मजस्तै हजारौँ नागरिकताहरू ?
तिम्रो खसानमा
तिम्रो मधेसमा
तिम्रो थरूहटमा
तिम्रो नेवामा
तिम्रो किरातमा
कहिंकतै नअटेको
म अर्थात्
नागरिकता नं. १४०२७ ।
महाशय ! हेक्का रहोस्
मैले राज्य खोजेको दिन
मैले राष्ट्र खोजेको दिन
धर्मराउने छन्
तिम्रो राज्यका
तमाम पर्खालहरू ।
OOO