Tuesday, January 23, 2024

विजय मल्ल

 


कविता

महान् लेनिनप्रति


कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।

सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।

ऊ, को आयो हेर, नेभा नदीको तीरबाट
लाख लाख मानिसको जुलुस लिएर ।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ,
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ?

एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हरइँटले बोलिरहेछ,
हरपत्थरले दोहोर्‍याइरहेछ ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–

दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन ।

000

Sunday, January 21, 2024

गोपाल अश्क

 

गोपाल अश्क


कविता

आत्मस्वीकृति



आमा !

मलाई पनि थाहा छ

म हजुरको छोरो

असल र ज्ञानी भई

हजुरले भन्नु भएको गाउँ–ठाउँमा बस्न सकिँन 

आँखा देख्नासाथ

प्वाँख लाग्नासाथ

उडिहालें आकाशमा 

स्वच्छंद र स्वतंत्र विचरणका लागि

आफ्नै जीवन जिउनका लागि

आफ्नै मरण मर्नका लागि ।

आमा 

मलाई पनि थाहा छ 

म 

हजुरको आँसु पोछन सकिँन !


बा !

म जान्दछु

हजुर अब डाँडा काटिसकेको घाम भइसक्नुभा’छ

थाकिसक्नुभा’छ हिँड्दा–हिँड्दै जीवनको बाटो

अहिले हिंड्दा, उठ्दा, बस्दा

कुनै सहारा चाहिन्छ हजुरलाई

तर

म चाहेर पनि 

हजुरको सहारा बन्न सक्दिँन

जेलिएकोछु आफ्नै घर–परिवारमा

आफ्नै चकमन्न परेको संसारमा 

यहाँ मर्न चाहे पनि मर्न सकिँदैन

बाच्न चाहेर पनि बाच्न सकिँदैन

मात्र जीवन र मृत्युको बीच पिल्सिन सकिन्छ

माफ पाऊँ !

म आउन सक्दिँन !


तर बा !

मैले त हजुरले नै देखेको सपना पूरा गर्दैछु

हजुरकै सपना पूरा गर्दा पल प्रति पल मर्दैछु 

मलाई अझै याद छ

हजुरले मलाई खेलाउँदा भाका हाली गाएको गीत–

मेरो छोरो मजस्तो होइन, राम्रो खान्छ

म  नगएको नहेरेका ठाऊँ परदेस जान्छ

लाउँछ घरमा पातालपुरीकी सुन्दरी बुहारी

मेरो छोरो भर्छ सुनले शून्य भकारी 


000

Sunday, October 22, 2023

दुबसु क्षेत्री

 

दुबसु क्षेत्री 


कविता

साले दुबसु क्षेत्री 


दौरा सुरुवाल र कालो कोटभित्र
सबै कुरा छोपिन्छ भन्दो हो साले
जति छोपे पनि कहीं न कहींबाट
आत्मविस्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
स्वाभिमान नुहिरहेको देखिन्छ
दौरा सुरुवालले छोपेर
लासलाई जिउँदो बनाउन के सक्थ्यो
बिचरा
अत्तर र्छर्केर सिनोको गन्ध दबाउन खोज्छ
तर कहीं न कहींबाट
गन्ध फैलिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि त साथीभाइलाई ढाँट्छ
कि हाकिमको पैताला चाट्छ
केही नभए
कसै न कसैको कुरा काट्छ साले,

दुई चार चर्का कविता लेखेर
सबै ठाउँमा बिकिन्छ भन्दो हो साले
जति बनाए पनि निचोरिएको पेटिकोटजस्तो
उसको अनुहार छ्याङ्गै देखिन्छ
उसको हाकिमले सुलोचना र चिसो चुल्होको
नाम सुनेको भए पनि
तोक-आदेश र धम्कीभन्दा
ठूलो महाकाव्य कहिल्यै सुनाएको छैन
ऊ आफै पनि टिप्पणीभन्दा
ठूलो कविता अरु केही हुँदैन भन्न थालिसक्यो
फर्सिको जरा लेखिँदा जन्मिएकै थिएन साले
मातेको मान्छे ....छापिंदा टुकुटुकु हिंड्दो हो
अहिले सनकमा दुई चार कविता लेखिटोपल्छ बिचरा
घुम्ने मेचमाथि अन्धो मान्छे हुँदै छ बरु ऊ
तर बिचरा
न भूपी हुन सक्यो न मोहन कोइराला
न बल्लभ हुन सक्यो न वैरागी काइँला
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र कविता छाँट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सम्पादकको पैताला चाट्छ
केही नभएर्
अर्थ न बर्थको दुई चार कविता छाँट्छ साले,

र्‍याकभरि, दराजभरि, भित्ताभरि सपनाहरु सजाएर
सपना बेच्दै जिन्दगी गुजार्न सकिन्छ भन्दो हो साले
जति सपना देखे पनि, जति सपना बटुले पनि
कहीं न कहींबाट
बिपनाले निचोरिरहेको देखिन्छ
कहीं न कहींबाट
यथार्थले घोचिरहेको देखिन्छ
फूलबुट्टे सपनाका मजेत्राहरु देखाएर
दईइचार वैंशालुहरु आकषिर्त गर्न खोज्छ
बिचरा
आवरणले मात्र ढाकेर
आफूभित्रको नीचता दबाउन खोज्छ
तर कहीं न कहींबाट
नीचता तैरिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले
ढाँट्ने र सपना साट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सपनाको पैताला चाट्छ
केही नभए
कसै न कसैसँग उधारो सपना साट्छ साले,

राजधानीमा बस्ने बित्तिकै
त्यसै अग्लो होएन्छ भन्दो हो साले
टुकुचाको किनारमा बसेर
टुकुचाझैं गन्हाइरहेको छ साले
धरहराको छेउमा बसेर
धरहराभन्दा अग्लो महत्वाकांक्षाले किचिरहेको छ साले
काठमाडौंले थिचेको छ, टोकेको छ
काठमाडौंले पटक-पटक ऐंठन गरेको छ
यस्तो बेला
रानीपोखरी किनार-किनार भएर हिंड्छ सधैं
तैपनि हाम्फाल्न सधैं अकमकाइरहेको छ
सिंहदरबारको छेउमा उभिंदैमा
सिंहदरबार बुझ्न के सक्थ्यो
बिचरा
टुंडिखेल हेरेर आफ्नो कोठाको
साँघुरो अनुभव गर्छ
बिचरो कहीं न कहींबाट
खुम्चिरहेको देखिन्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा छाँट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि सिंहदरबारको पैताला चाट्छ
केही नभए
कहिल्यै पूरा हुन नसक्ने नयाँनयाँ योजनाहरु आँट्छ साले,

विज्ञान र प्रविधिका दईइचार कुरा
पढें भन्दैमा सबै कुरा बुझिन्छ भन्दो हो साले
जति पढे पनि कहीं न कहींबाट
अन्धविश्वास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
अविश्वास बगिरहेको देखिन्छ
भाषण गरेर मात्र
सभ्यातालाई आत्मसाथ गर्न के सक्थ्यो
बिचरा
रोबटले पनि तर्सर् खोज्छ
कहिलेकहीं कम्प्युटरले पनि गिज्याउन खोज्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि रोबोटको पैताला चाट्छ
केही नभए आफ्नै खुट्टा आफैं काट्छ साले,

इतिहास ओढेर सुतेपछि
सबै कुराबाट जोगिन्छ भन्दो हो साले
जति ओढे पनि कहीं न कहींबाट
इतिहास चुहिरहेको देखिन्छ
कहीं न कहींबाट
षड्यन्त्र बगिरहेको देखिन्छ
अतीत खाएर मात्र के बाँच्न सक्थ्यो
बिचरा
पर्ुखाको पौरख पढेर फिस्स हाँस्न खोज्छ
तर जहींतहींबाट बिचरा बुख्याचा जस्तो देखिन्छ
त्यही पनि ढाँट्छ साले,
ढाँट्ने र कुरा काट्ने बानी परिसकेको छ
कि त पैताला चाट्ने बानी परिसकेको छ
कि साथीभाइलाई ढाँट्छ
कि इतिहासको पैताला चाट्छ
केही नभए इतिहासकै कुरा काट्छ साले,

आत्महत्या त गरिसकेको छैन उसले
त्यसैले अब उसको हत्या पनि हुन सक्छ
बाँच्ता त बिचरो पूरै उधारो बाँचेको छ
बाँच्ता पनि सापटी जीवन बाँच्नु परेको छ उसले
त्यही पनि
कहिले मतिर, कहिले आफैंतिर हेरेर
साले दुबसु क्षेत्री
किच्च हाँस्छ
हुन सक्छ अब छिट्टै कुनै दिन
आफ्ना कविताहरु ओढेर सुतेको
दुबसु क्षेत्री
आलिशान महलले छेकेको
घाम नछिर्ने सानो घरको
चिसो खाटमा
एकदिन बेवारिस मर्छ
छातीभरिका सुकुमार सपनाहरुलाई
सिरकमा पोको पारेर
एकदिन एकाएक मर्छ
कसैले थाहा नपाई मर्छ ।

000

उपेन्द्र श्रेष्ठ

 

उपेन्द्र श्रेष्ठ

जन्म : 02 दिसम्बर 1936

कृतिहरू:

निम्तो (२०१७)
पञ्चायत (२०२४)
उपेन्द्र श्रेष्ठका कविता (२०३९)
अस्वीकृत (२०५६)
दासले मसँग मुक्ति मागेको छ (२०५९)
नाङ्गो अक्षर (कवितासङ्ग्रह, २०६५)
शिलान्यास (साहित्यिक पत्रिका) को सम्पादन

पुरस्कार / सम्मान

युगकवि सिद्धिचरण काव्य पुरस्कार
हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार
चितवन वाङ्मय प्रतिष्ठानबाट सम्मान

कविता

तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात


तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात
सल्काइदेऊ
मसँगै रगतको सिर्काले कोरिएका ती कागजका पाताहरू
नब्यूँझऊन् यी राता अक्षरबाट मरेका
साँपहरू फेरि हाम्रो वर्तमानसित
नजन्मोस् ती सालिकहरूबाट फेरि अर्को जङ्गबहादुर
पुरिदेऊ चिहानमा विगत इतिहासका काला अक्षरहरू
नत्र दोहोरिनेछन् विगत इतिहासमा झैँ हाम्रो इतिहासमा
उही घटना र पात्रहरू ।
म उभिएको छु
यी हाम्रा अग्ला-अग्ला पहाडसित
म हिँडेको छु
यी हाम्रा खोलानालाको गीतसित
त्यो ब्रह्म-पासोले रोक्न नखोज मेरो उर्लंदो भेललाई
ओर्लिन देऊ ओरालो लागेको घामलाई झैँ मलाई
म फैलिन चाहन्छु चारैतिर विश्वको साम्राज्यमाथि
माउन्ट फुजीको ज्वाला भएर ।
तिमी
आकाशभरिको घाम, म घैँटोभरिको रात
तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात!
हेर, उः चीलले झम्टा मार्छ
कुखुराको चल्लालाई तिम्रै उपस्थितिमा
लखेट्छ बाजले उः परेवालाई
झैँ अर्धनिद्राले मेरो वर्तमानलाई
लौ, खोस्रयो स्यालले बराजुको चिहानलाई
थिचेका छन् माटोले ढुङ्गालाई
ढुङ्गाले माटोलाई झैँ मान्छेले मान्छेलाई
उभिएका छन् है मान्छेका लासमाथि
मान्छेका ताजमहल र कुतुबमिनार ।
म घैँटोभरिको रात
कुखुराको आवाजले म बिउँझसकेको छु
र देखिसकेँ मैले अब आकाशभरिको घाम
मुर्चुङ्गाको आवाजसँगै सलबलाउँछ ओठ मेरो
म भन्छु
ती पोलिएका इँट र कुँदिएका ढुङ्गाले
भन्नुपर्छ अब अदालतमा सम्पूर्ण यथार्थ कुरा
तिमी आकाशभरिको घाम
भन कति बाँचूँ म घैँटोभरिको रात भएर ?

000

जीवन आचार्य

 

जीवन आचार्य


कविता

म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?


हामी दुवै एउटै बगैँचामा फक्रन लागेका
दुईवटा कोपिला थियौँ
लाखौँ झारपातहरूको रोदनबीच
तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ।
हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ
तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो ।
यसरी म कोपिला नचुँडिएको भए
तिमी कसरी बगैँचामा एक्लो घमन्ड फक्रन्थ्यौ
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?
म नानीहरूका असङ्ख्य पाइतालाहरू भएर
क्षितिज नाघ्नलाई डाँडाबाट शङ्खनाद गर्दै हिँडेको थिएँ
तर तिम्रो एउटै विशाल र कठोर पाइतालाले—
हामी सम्पूर्ण बालकहरूका— नरम–नरम पाइतालाहरू
— र, कोमल–कोमल मनहरू
कुल्चियौ र यस्तरी दबायौ—
हुन सक्छ मैले क्षितिज नाघ्नुको अर्थ
तिमी एक्लो सूर्य आकाशमा हाँस्न केही धमिलो हुन्थ्यो
यसरी म नदबेको भए—
तिमी कसरी मैमाथि टेकेर उभिने साहस गथ्र्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?
म बिस्तारै–बिस्तारै ढुङ्गाहरू बटुलिँदै
चौतारी भएर पहाड अग्लिँदै थिएँ
तिमी हिमाल पग्लेर मलाई बगाउँदै लग्यौ
यसरी म टुक्रिँदै गएँर तिमी विशाल हुँदै गयौ
हुन सक्छ म पहाड अग्लिनुको अर्थ
तिमी हिमाल छोपिनु थियो।
यसरी म नटुक्रिएको भए तिमी कसरी सिङ्गो हुन्थ्यौ
या, यसरी म नटुक्रिएको भए—
तिमी कसरी हामी टुक्रा–टुक्राको गारो लगाएर अग्लोमहल बन्थ्यौ ?
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?
अब हामी दुवैबीच एउटा प्रश्न (?) बाँकी रह्रयो
तिमीले कोपिला चुँडेर फालेको मेरो बिरुवामा
अझै जराहरू र हाँगाहरू बाँकी छन्,
म पुनः बिरुवा हुर्कन सक्छु— लहलहाएर ।
म पुनः कोपिला फक्रन सक्छु— मगमगाएर ।।

000

प्रतिसरा सायमि

 

प्रतिसरा सायमि  

कविता

जागिरले निलेको


अभावको पर्खालले थिचिएर
साँघुरो जिन्दगीको गल्लीबाट
निस्केँ- म !
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटेँ- मैले
एउटा जागिरसँग- कामको मतलबसँग
लेनदेनको बजारमा
गृहस्थीको बलियो घेरा
तानि तानिकन लम्ब्याएर
आकाशको फराकिलो सीमामा
अरू बढी पोखिन
अरू बढी फैलिन ।
आवतजावतको
यो जिन्दगी धान्ने गल्ली !
फराकिलो गर्ने क्रममा
तर जन्तर नै भई झुण्डियो- जागिर यो
मेरो घा“टीमा ।
यसै क्रममा,
जागिर जो हो-
यसलाई मैले
समयको सुनको माला बनाउन खोजे“
गलपासो त होइन
स्वतन्त्र पथ बनाउन खोजेँ
घर र अफिसबीच मात्रको
लामो जेल होइन
आखिर म !
ऐनाको ठूलो ढोकाभित्र
९-५ भित्रको समय पिँजडामा
केवल जागिरेको लेबलमा
टाँसिएछु,
थुनिएछु ।

000 

चेतनाथ धमला

चेतनाथ धमला 


कविता

रामशाहपथको अज्ञात घरबाट


हो त !
उल्टो जुता लगाएर हिँडिरहेछन्
एकजोर खुट्टाहरू
रामशाहपथको अज्ञात घरबाट निस्किरहेछन्

कैयौँ अज्ञात रोगजस्तै बगरेहरू
आँखामा पट्टी बाँध्दै
उल्टो तराजु झुन्ड्याएर
भाउन्निन्छन् रातो रङ देख्यो कि
सन्त्रस्त मनले आफैँ जल्छन्
र कलुषित घोषणा गरेर
पिइरहन्छन् मृगतृष्णा
कचहरीमा बस्छन् एकाएका
र पटाङ्गिनीमा सुसेलिएर
न्यायका पत्रपत्र च्यातेर
खेल्छन् चङ्गाचेटहरू
अनि, खोक्छन् न्यायका गीतहरू
अनेक प्रयत्न गरिन्छन् उज्यालोका मान्छेविरुद्ध
एकसाथ उभिन्छन् दक्षिणी हावाहरु
काँधमा काँध मिलाएर फुस्फुसाउँछन् पश्चिमी वेगहरू
कुपोषित आँखा भएपछि
आफ्नै बारीको फूल उखेलेर फाल्दै छन् बगरमा स्याउला बनाएर पुछ्न खोज्दै छन् नालीमा 
र गन्न खोज्दैछन् मालीका टाउकाहरू
खोई के के बुन्दै छन् अङ्गुलीमालहरू
र, गन्न खोज्दै छन्-
रामशाहपथको अज्ञात घरबाट

रामशाहपथ - छेउमै उल्टो उदाउनेछन् सूर्यहरू
उल्टै बग्ने छन् गङ्गोत्री
खर्चिनेछन् युगनायक विरुद्ध
प्रतिशोधका बथानहरू
रामशाहपथको अज्ञात घरबाट निस्केर
एकदिन चिलले जस्तै झम्टिनेछन्
 
खोपामा थन्क्याएका कुटिल खाताहरू
बोकेर हिँड्नेछन् मुसाहरू
स्वार्थविजको गर्ने छन् फैसलाहरू
खनिनेछन् नौटङ्गी सपनाहरू

कहाँकहाँ छन् अदृश्य शक्तिहरू?
किन बिउँझिन खोजिरहेछन् महेन्द्रहरू
किन जुँगा मिलाइरहेछन् जङ्गबहादुरहरू
किन रगतले कोरिएका समन्यायहरू ?
फाल्ने रछ्यान खोजिरहेछन् अङगुलीमालहरू
अनि चर्कोचर्को
बनिरहेछन् आवाज पिउने बधशालाहरू

साबधान
युगको मान्छे !
रामशाहपथको अज्ञात घरभित्र न्यायका होइनन्
बरु झुन्डिन्छन् प्रतिशोधका तराजुहरू
कसौँडीमा पकाउँछन् रङगिन खिचडीहरू
र ,कुटिल मुस्कान बोकेर उदाउँछन् बगरेहरू
कुनै रोगजस्तै फैलिन्छन् सुइँकोविनेै ।
तिनको दुस्साहसविरुद्ध उभिनुछ
सिङ्गै सृष्टि उठाएर !

000