कविता
नेपाल बोल्नुपर्छ
पापका चौताराहरूमा बसेर
यहाँ धर्मका कुरा ओकल्नेहरूको बिगबिगी छ
सत्य लुकाएर खटप्वालमा
विषका घडा तेर्स्याएर देउरालीहरूमा
शान्तिको ढ्वाङ फुक्नेहरूको रजाइँ चलेको छ
बुद्धत्वको स्खलनमा
दिनदहाडै मानवताको नृशंस हत्या भएको छ
गिद्दहरू अहिंसाको नाटक रचेर
हरप्रहर शान्तिका आँखा ठुँगिरहन्छन्
बुद्धको देशमा
दिनदहाडै शान्तिको अस्मिता लुछिरहेका छन् ।
*
बेचिन्छन् यहाँ फगत मान्छेहरू
शिविरहरूका दर्दहरू
छातीमा लपक्कै सजाएर स्नेहले
भ्रम कोरलेर मान्छेका मगज मगजहरूमा
दौलतको खेती लगाउँदो छ मान्छे
सत्तामै बसेर सत्ताधारी
झुटको पुलिन्दा बोकेर सत्य चपाइरहेको छ ।
*
इज्जत बेचेर
पैसा कमाउने तन्मयतामा
सरणार्थी बन्न रुचाउने हुलहरूका हुलमा पसेर
किन मान्छे बेचिन्छ पैसामा
मान्छे किन बेच्छन् मान्छेहरू पैसामा ?
मेरो वर्तमान
लाज पचाएर मैँलाई गिज्याइरहेको छ ।
*
आत्मसम्मानका छातीमा आगो सल्काउनेहरू
वर्तमानका कहालीलाग्दा अपराधहरू
आमाका छातीमा टाँसेर
विश्ववन्धुत्वका खातिर
शरण लिएकाहरूको हुर्मत लिइरहेका छन्
सत्ताकै आडमा बसेर
मान्छे किनबेचको धन्दा चलाइरहेका छन् ।
*
बुद्धका देशमा मान्छेका शिकारीहरू
बाज बनेर उडिरहेका छन्
सिबिरमा आस्रय लिएका
बिचरा माटो विनाका देश दु:खेका मान्छेहरू
दुई गज जमिनको
पर्खाइमा रहेका बेला
उनीहरूकै आत्म सम्मानको आडमा बसेर
एक हुल सत्ताकै आसपास बसेका छेपाराहरूले
मान्छेको मोलतोल गरिरहेको कारुणिकता आज बल्झिरहेको छ ।
*
किन्ने, किनिने र बेचिनेहरू बेचैनीमा छन्
सरणार्थीहरूको आँचमा ठेस पुगेको छ
के नेपाल
मानव तस्करहरूको अखडा हो र ?
कलमहरूले
अब आँखा खोल्नुपर्छ
र, तस्करहरूका विरुद्ध नेपाल बोल्नुपर्छ ।
***
No comments:
Post a Comment