मौलिक कृति
- कङ्काल बस्ती - मुक्तक संग्रह - वि.सं. २०३८,
फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कविता, गजल, मुक्तक, कथा, लेख प्रकाशित,
ठेगाना - टीकाथली, ललितपुर
------------------------------------------
कविता
नयाँसडक, कवि र कविता
ब्यस्त छ नयाँसडक
मान्छेमान्छेको भीड
मोटरमोटरको ताँती
मस्त छ शहर
“हिपअप पाइन्ट” मा ठाँटिएकी
बैँसालुको हुल
देखेर लाज मान्छ नयाँसडक
“हिपअप पाइन्ट” को कट्टीबाट चिहाइरहेको
रातो
नीलो
सेतो
अनेक रङ्गिविरङ्गी “प्यान्टी”
जब युवकको कुम ठोकिन्छ
तिनै बैँसालुको छातीमा
“आँखा फुटेको गोरू”—
युवक गाली खान्छ बैँसालुको
ऊ भने कानको मुन्द्री र लामो कपाल
हल्लाउँदै दङ्ग पर्छ र मुस्काउँछ ।
पिपलबोटमुनि उभिएको कवि
यीे सब चहलपहल देख्छ
जब ऊ कविता सोच्नथाल्छ
उसको कविता
सडकमा फुत्त हामफाल्छे
र जोड्जोड्ले नारा लगाउँन थाल्छे —
— तानाशाहीतन्त्र चाहिँदैन चाहिँदैन
— मान्छे मार्न पाइँदैन पाइँदैन
— अपहरण, हत्या र हिंसा बन्द गर् बन्द गर्
— मानवअधिकारको रक्षा गर् रक्षा गर्
— शान्ति सुरक्षा बहाल गर् बहाल गर् ।
यता कवि आफ्नै कवितासँग प्रश्न गर्छ
मान्छे कुन सरकारले मारेको छैन ?
मान्छे नमार्ने सरकार कहिले आउँछ ?
उता कविताको नारा
नयाँसडकका प्रत्येक घरका भित्ताहरूमा ठोक्किएर
बिजुलीको खम्बामा बज्रन पुग्छ
त्यति बेला नै बिजुली निभ्छ
चारैतिर अँध्यारो अँध्यारो
सँगै हिँडेको साथी चिन्न मुस्किल
उज्यालोमै अराजकता फैलिरहेको बेला
अँध्यारोमा त जे पनि हुनसक्छ
यो सोचेर कवि कवितालाई
नयाँसडकमा एक्लै छोडेर
कुलेलम् ठोक्छ घरतिर ।
साँझ टेलिभिजनमा समाचार आउँछ —
आज बेलुकी अज्ञात समुहले
एउटा व्यापारीलाई लुटेको छ
एउटा देश नामको युवकको
अपहरण गरेको छ
एउटा कविता नामकी युवतीे
बलात्कारमा परेकीे छे
नाम थर थाहा नभएको
एक नेपालीको हत्या भएको छ
यस घटनाको अहिलेसम्म
कसैले पनि जिम्मेवारी लिएको छैन ।
कवि टेलिभिजन हेर्दाहेदैँ देख्छ —
टेलिभिजनको पर्दाबाटै निस्केर
कालो पोशाक
र कालै नकाब लगाएका मान्छेहरू दौडिरहेका
शहरभरि
गाउँभरि
देशभरि ।
कवि टेलिभिजन बन्द गर्छ र
भन्नथाल्छ —
हे इश्वर !
किन मान्छे मान्छेकै अस्तित्वमाथि आत्र्रmमण गरिरहेछ ?
किन मान्छेमा यसरी डायनासोर प्रवृत्ती बढिरहेछ ?
000
No comments:
Post a Comment