कविता
यात्रामा
मसँगै यात्रामा
गाउँ, शहर, बजार थियो
फुलिरहेको फूल थियो— हिमालमा
झुलिरहेको धान थियो— मधेसमा
गल्ली, चोक र डाँडापाखाहरू थिए
ती सबलाई तिमीले
स्वर्गझैँ सुन्दर देख्यौ
तर, मलाई कुरूप ।
यात्रामा मैले
पुर्खाहरूको लुटिएको कथा देखेँ
काटिएको नाक
अपहरण गरिएको सभ्यता
बेचिएको मान्छेको क्रन्दन देखेँ
तर, त्यसलाई तिमीले
आफ्नो गौरवमय इतिहास देख्यौ
र, मलाई अराष्ट्रिय तत्व ।
मेरो रोदनलाई बारुद
मेरो चित्कारलाई बम
र, मेरो अनुनयलाई विध्वंश देख्यौ तिमीले ।
वास्तवमा
तिमी मसँगै थियौ
तर, यति लामो यात्रामा पनि तिमीले कहिल्यै
मेरो आँखामा आफ्नो अनुहार हेरेनौ
केवल हेर्यौ मलाई ।
ए सहयात्री !
तर, मैले त तिम्रो आँखामा
पटक–पटक हेरिरहेछु— आफूलाई
र, देखिरहेछु—
केवल आतङ्ककारी !
भन न
कहिले देख्नु तिम्रो आँखामा मैले
उदाइरहेको घाम ?
०००
loklama1029@gmail.com
चौँरीदेउराली, काभ्रे
No comments:
Post a Comment