कविता
अन्याय भो न्याय कहाँ छ भन्दै
हिँड्दै थिएँ आज म लर्खराएँ
झोला बिसाएर बसेँ अघाएँ
ब्वाँसा अरिङ्गाल र स्याल राज
चल्दैछ के बन्नु यहाँ समाज
बढ्दैछ कोलाहल तिर्मिराएँ
देखेर यो चाल पुग्यो अघाएँ
सम्भावनाका जग भत्किए झैँ
बेमौसमी बादल वर्सिए झैँ
डुब्दैछ यो देश म थर्थराएँ
चिन्ता बढ्यो खान्न पुग्यो अघाएँ
मान्छे थिए दास समान पैले
मान्छे बने दास खुलेर ऐले
यी दासकै मित्र बनेँ रमाएँ
आँखा खुले होस खुल्यो अघाएँ
मान्छे भए पुच्छर हुन्न भन्थे
पुच्छ्रे सबै जन्तु भनी गनिन्थे
गिन्ती गरूँ? पुच्छर के लजाएँ
झन् लाजमा लाज बढ्यो अघाएँ
होला निकै सुन्दर स्वाद भन्दै
उन्मुक्तिको स्वप्निल तान बुन्दै
फुर्केर मीठा सपना सजाएँ
चाखेँ नयाँ स्वाद पुग्यो अघाएँ
खोजूँ नराम्रो लय ताल फेरि ?
रोजूँ कि राम्रो घरमा मझेरी ?
यस्तो न उस्तो अब चेत पाएँ
त्यो खान्न यो खान्न पुग्यो अघाएँ
000
No comments:
Post a Comment