कविता
सालिकको इतिहास र निरीह सिपाही
उम्लिरहेको छ - घाम
काँपिरहेको छ - जाडो
निख्खर कालो छ-सडक
यही उपक्रममा उभिएर
रुँगिरहेको छ सालिक - एउटा सिपाही
इतिहास अभिलेखमा
तप्-तप्-तप्
रगत निचोरेर
उभिएको छ-सालिक
त्यही सिपाहीको टाउकोमाथि
झस्किरहन्छ समय
खरानी-खरानी इतिहासका पाइला हेरेर
बीभत्स क्रान्तिका मृत्युहरू सम्झिएर
रोइरहेको निरीह बालकतिर फर्किएर
कुनै कारुणिक र त्रासद
दुःखान्त नाटकको अवसान कथाजस्तो
मौन छ - वर्षौंदेखि
भयभीत यो सालिक
लाग्छ झर्यामझुरुम फुटेको छ- समयको मुटु
र हेरिरहेका छ - लज्जास्पद आँखाले
सशङ्कति समयलाई
समयको नतमस्तक एउटा हुल
आउँछ, हेर्छ र श्रद्धासुमन चढाउँछ
सालिकतिर फर्किएर
बर्र आँसु खसाउँदै
मर्यादापालकको अभिनयमा
समुस्कान हेरिरहन्छ-सिपाही
दुर्नियतिका प्लेकार्डहरू
स्मृतिकङ्क्रिट समयको अर्को कोरस
पुनः आउँछ, हेर्छ र भावोत्तेजक उभिन्छ
उही मर्यादापालको अभिनयमा
वक्रदृष्टि बन्दुक त्यतैतिर फर्काएर
नरसंहारको आलो रगत बगाउँदै
त्यही सालिकको निपुणता दोहोर्याउँछ - निरीह सिपाही ।
000
No comments:
Post a Comment