कविता
अस्तित्व सोच
मेरा क्रोधहरु सकिएपछि
अन्यायमाथिका
मेरा प्रतिक्रियाहरु सकिनेछन्
अपराधहरुमाथि
मेरो आक्रोश पुग्ने छैन
त्यसबेला म स्वयं सकिनेछु
म सकिएपछि
घामका किरणहरुले बनाउने
अरबौं छायाँहरुमध्ये
घट्नेछ एउटा छायाँ
उज्यालो संसारको एउटा चेत सकिनेछ
म असाध्य माया गर्छु
मानिसका प्रेम र करुणाहरुलाई
उत्सवमा उठ्ने हात
र हावामा हल्लिने पताकाहरुलाई
प्रशन्न हुँदा उज्यालो
र खिन्न हुँदा अँध्यारो
प्रकाश र छायाँका भेदहरुजस्ता
मानिसका आवेगहरुलाई
म भएसम्म म प्रेम गर्नेछु निरन्तर
तर जब सकिनेछु म
सकिनेछ अँध्यारो र उज्यालोको भेद
जब म सुन्न छोडेर बोल्नमात्र थाल्छु
म सकिनेछु
जम म आफैंलाई मात्र वास्ता गर्छु
म सकिनेछु
म सकिएपछि
संसारबाट एउटा अनुराग सकिनेछ
एउटा अनुरागबाट आउने
अर्को अनुराग सकिनेछ
केही अनुरागहरुको यात्राबाट पुगिने
प्रेमको गन्तब्य सकिनेछ
कसैले थाहा नपाए पनि
केही अधूरो हुनेछ संसार
जब म सकिनेछु
जब सकिन्छु म
एक्काइसौं शताब्दीको यान्त्रिकताबिरुद्ध
एक्काइसौं शताब्दीकै ढुङ्गो उज्याएर
एक्काइसौं शताब्दीको ब्यापारलाई
हिर्काइरहने एउटा जीव सकिनेछ
अथवा मुनाफोखोरीको खोरबिरुद्ध
शब्दहरु खेलाइरहने एउटा नीब सकिनेछ
फूलहरु सकिने छैनन्
तर सुगन्धको एउटा हिस्सा सकिनेछ
थुप्रै आनन्दहरु बाँकी रहे पनि
प्रेयशीलाई र्स्पर्श गर्दा
एउटा व्यक्तिमार्फत् लोकले अनुभव गर्ने
एउटा आनन्द सकिनेछ
केही चुम्बनहरु सकिनेछन्
केही शुभकामनाहरु सकिनेछन्
केही उच्छ्वासहरु सकिनेछन्
यसरी म एक्लो सकिनेछु
तर मसँगै थुप्रै सुन्दरताहरु सकिनेछन्
यसबेला जब म आफ्नो अस्तित्व सोच्दैछु
म सकिएको छैन
तर सकिएका छन् भावनाका आदिम रुपहरु
अस्थिपंजरझैं हाँस्ने
मञ्जनको विज्ञापनका दाँतहरु छन् वरिपरि
गणितका सूत्रहरुले बाँधिएका
हृदयहरु छन् वरिपरि
यही उपस्थितिको बीचमा
जोगाएर आफ्ना ऊर्जाहरु
सकेसम्म जोगिने प्रयत्नमा छु
यदि म जोगिइँन भने
मसँगै सकिनेछन्
मजस्ता अरबौं मानिसहरु ।
000
No comments:
Post a Comment