कविता
दोमन
डँडेलाले अक्सिजन खाने
कोरोनाले नि अक्सिजन झार्ने
डँडेलो नायक नै
टायर बालेर अक्सिजन माग्ने
कसिलो छ गाँठो
निरीह छ योजना
फितलो छ व्यवस्थापन
चकित छु म
दोमनमा छु म
कार्बन डाइअक्साइडमा पनि छ अक्सिजन
पानीमा पनि छ अक्सिजन
डिकम्पोज गर्नुपर्छ तिनलाई
अक्सिजनका लागि
हरियाली चाहिन्छ
धैर्य चाहिन्छ
जाँगर चाहिन्छ
प्रविधि चाहिन्छ
छ त हामीसित ?
प्रश्नको चाङमा छु म
छ, छैनको दोमनमा छु म
सीमित छ थैली
बाँझो हुँदै छ बारी
घरघरमा छ महामारी
सञ्जालबाट उत्तेजना वर्षा गर्ने कि
बारीमा मकै छर्न जाने सानु ?
ट्विटरमा कोलाहल पोस्ट गर्ने कि
डिहीमा फर्सी रोप्न जाने हामी ?
अलमलमा छु म
दोमनमा छु म
मितजस्ता लाग्छन्
विकास र दलाल
अवसर र प्रकाश
मन र आकाश !
हामीले ल्याएको विकासले
छेलिरहेको छ धेरैलाई
उखेलिरहेको छ गरिबलाई
यसपटकको गणनामा
गरिबी गन्ने कि विकास ?
छलफलमा छु म
दोमनमा छु म
हामी माटोमा थुक्दै हिँड्ने कि बीउ छर्ने ?
बाटोमा फोहोर फाल्ने कि बढार्ने पनि ?
आधा गाग्री छचल्किएको छ
अद्र्धसत्यसित पुलकित भइएको छ
नित्य अराजक बन्ने कि जागरुक ?
मनोवादमा छु म
दोमनमा छु म ।
० ० ०
No comments:
Post a Comment