Saturday, October 7, 2023

देवविक्रम राई



कविता

मोक्षयात्रा


बगिरहेको कञ्चन खोलामा आफैँ मिसिएर
पहराको फूलको रङमा आफैँ घोलिएर
बगैँचामा पोखिएको चाँदनीमा आफैँ चोपिएर
मैले यसरी बाँचिदिँदा के हुन्छ ?

ढाँटेर खानुरैछ, खाइरहून्
चोरेर खानुरैछ, खाइरहून्
रोएर खानुरैछ, खाइरहून्
बोलेर खानुरैछ, खाइरहून्
धम्क्याई खानुरैछ खाइरहून्
यी दलदलको बाटो छोडेर
मैले पसिना बगाएर खाँदा के हुन्छ ?

सत्ता-वैभव उनीहरूका लागि मात्रै होउन्
उनीहरूकै लागि होउन् सम्पत्ति सबै थोक
मान-सम्मान, पद-प्रतिष्ठा, विभूषण, पुरस्कार र पगरीहरू
होउन्, उनीहरूको लागि मात्रै होउन्
उनीहरूकै दायाँ-बायाँ होउन् आउरे-बाउरे
मलाई किन चाहियो केही थान मलामी
म एक्लै मरिदिँदा के हुन्छ ?

उल्टो-सुल्टो जे बोलेर पनि टिक्नु छ, टिकून्
साथीको कोखामा छुरा धसेर आफू बाँच्नु छ, बाँचून्
यी सबैबाट बेपरबाह भएर
काम, क्रोध, लोभ, मोह र मात्सर्यबाट निस्पृह भएर
मैले चरा झैँ उड्दा के हुन्छ ?
मैले बादल झैँ डुल्दा के हुन्छ ?
या,मैले ढुङ्गा झैँ जम्दा के हुन्छ ?

000


खोटाङ्ग
२० असोज, २०८०

No comments:

Post a Comment