Sunday, October 22, 2023

उपेन्द्र श्रेष्ठ

 

उपेन्द्र श्रेष्ठ

जन्म : 02 दिसम्बर 1936

कृतिहरू:

निम्तो (२०१७)
पञ्चायत (२०२४)
उपेन्द्र श्रेष्ठका कविता (२०३९)
अस्वीकृत (२०५६)
दासले मसँग मुक्ति मागेको छ (२०५९)
नाङ्गो अक्षर (कवितासङ्ग्रह, २०६५)
शिलान्यास (साहित्यिक पत्रिका) को सम्पादन

पुरस्कार / सम्मान

युगकवि सिद्धिचरण काव्य पुरस्कार
हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार
चितवन वाङ्मय प्रतिष्ठानबाट सम्मान

कविता

तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात


तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात
सल्काइदेऊ
मसँगै रगतको सिर्काले कोरिएका ती कागजका पाताहरू
नब्यूँझऊन् यी राता अक्षरबाट मरेका
साँपहरू फेरि हाम्रो वर्तमानसित
नजन्मोस् ती सालिकहरूबाट फेरि अर्को जङ्गबहादुर
पुरिदेऊ चिहानमा विगत इतिहासका काला अक्षरहरू
नत्र दोहोरिनेछन् विगत इतिहासमा झैँ हाम्रो इतिहासमा
उही घटना र पात्रहरू ।
म उभिएको छु
यी हाम्रा अग्ला-अग्ला पहाडसित
म हिँडेको छु
यी हाम्रा खोलानालाको गीतसित
त्यो ब्रह्म-पासोले रोक्न नखोज मेरो उर्लंदो भेललाई
ओर्लिन देऊ ओरालो लागेको घामलाई झैँ मलाई
म फैलिन चाहन्छु चारैतिर विश्वको साम्राज्यमाथि
माउन्ट फुजीको ज्वाला भएर ।
तिमी
आकाशभरिको घाम, म घैँटोभरिको रात
तिमी आकाशभरिको घाम, म घैँटोभरिको रात!
हेर, उः चीलले झम्टा मार्छ
कुखुराको चल्लालाई तिम्रै उपस्थितिमा
लखेट्छ बाजले उः परेवालाई
झैँ अर्धनिद्राले मेरो वर्तमानलाई
लौ, खोस्रयो स्यालले बराजुको चिहानलाई
थिचेका छन् माटोले ढुङ्गालाई
ढुङ्गाले माटोलाई झैँ मान्छेले मान्छेलाई
उभिएका छन् है मान्छेका लासमाथि
मान्छेका ताजमहल र कुतुबमिनार ।
म घैँटोभरिको रात
कुखुराको आवाजले म बिउँझसकेको छु
र देखिसकेँ मैले अब आकाशभरिको घाम
मुर्चुङ्गाको आवाजसँगै सलबलाउँछ ओठ मेरो
म भन्छु
ती पोलिएका इँट र कुँदिएका ढुङ्गाले
भन्नुपर्छ अब अदालतमा सम्पूर्ण यथार्थ कुरा
तिमी आकाशभरिको घाम
भन कति बाँचूँ म घैँटोभरिको रात भएर ?

000

No comments:

Post a Comment