गोपाल अश्क |
कविता
आत्मस्वीकृति
आमा !
मलाई पनि थाहा छ
म हजुरको छोरो
असल र ज्ञानी भई
हजुरले भन्नु भएको गाउँ–ठाउँमा बस्न सकिँन
आँखा देख्नासाथ
प्वाँख लाग्नासाथ
उडिहालें आकाशमा
स्वच्छंद र स्वतंत्र विचरणका लागि
आफ्नै जीवन जिउनका लागि
आफ्नै मरण मर्नका लागि ।
आमा
मलाई पनि थाहा छ
म
हजुरको आँसु पोछन सकिँन !
बा !
म जान्दछु
हजुर अब डाँडा काटिसकेको घाम भइसक्नुभा’छ
थाकिसक्नुभा’छ हिँड्दा–हिँड्दै जीवनको बाटो
अहिले हिंड्दा, उठ्दा, बस्दा
कुनै सहारा चाहिन्छ हजुरलाई
तर
म चाहेर पनि
हजुरको सहारा बन्न सक्दिँन
जेलिएकोछु आफ्नै घर–परिवारमा
आफ्नै चकमन्न परेको संसारमा
यहाँ मर्न चाहे पनि मर्न सकिँदैन
बाच्न चाहेर पनि बाच्न सकिँदैन
मात्र जीवन र मृत्युको बीच पिल्सिन सकिन्छ
माफ पाऊँ !
म आउन सक्दिँन !
तर बा !
मैले त हजुरले नै देखेको सपना पूरा गर्दैछु
हजुरकै सपना पूरा गर्दा पल प्रति पल मर्दैछु
मलाई अझै याद छ
हजुरले मलाई खेलाउँदा भाका हाली गाएको गीत–
मेरो छोरो मजस्तो होइन, राम्रो खान्छ
म नगएको नहेरेका ठाऊँ परदेस जान्छ
लाउँछ घरमा पातालपुरीकी सुन्दरी बुहारी
मेरो छोरो भर्छ सुनले शून्य भकारी ।
000
No comments:
Post a Comment