Wednesday, February 26, 2025

मेदिनीनाथ सुवेदी

 

मेदिनीनाथ सुवेदी (वि.सं. १९९७ - २०७३)


कविता


धम्की न दे भारत

हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुवै देशको,
धेरैवर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
त्यो नै पुष्ट गराउँदै अघि बढ्यौ के भूल हाम्रो छ त ?
सोझै राख्छु दबनबमा म त भनी धम्की न दे भारत ॥
सानो गर्दछ के सबै किसिमले मै हूँ ठुलो देश त,
खाँचो हुन्छ अनेक चीज नदिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत छिटै धम्की न दे भारत ॥
यो नेपाल पवित्र नै छ अरुको दासत्वले शून्य छ,
धेरैवर्ष छ मुस्लिमी, वृटिशको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्टतः,
ठूलो पेट नचाउँदै समरको धम्की न दे भारत ॥
हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा धम्की न दे भारत ॥
हिंसाहीन बनी लडाइँ नगरी शान्ति-प्रथा ल्याउन,
गान्धीवाद चल्यो त्यही मुलुकमा स्वातन्त्र्य फर्काउन ।
जन्मी नेहरुबाट नै अब मर्यो त्यो पञ्चशील स्वतः,
त्यत्रो धाक कहाँ गयो समरको धम्की न दे भारत ॥
गर्दै सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठीको जुन शर्तमा छ बलियो त्यै शर्तमा चल्छ यो ।
सम्झीराख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित
भै त्यो भूल सुधार झट्ट गरिदे धम्की न दे भारत ॥
सं.रा.सं. प्रति फर्कँदा वचनमा बल्छी परेको दिन,
लाग्ने लाज तँसङ्ग छैन कि त्यसै गर्छस् अमैत्री किन ?
नाकाबन्द गरेर दुर्नियतको छोरो उडाइस् कि त,
तेरो हुन्न भलाइ कत्ति अहिले धम्की न दे भारत ॥
ठूला चीन अमेरिका रुसहरूलाई बरु हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे ।
तेरो यो स्थिति ठीक छैन अरुले भन्छन् सधैँ स्पष्टतः,
नेपालीसँग मिल्नुपर्छ, कहिल्यै धम्की न दे भारत ॥
टिस्टा पूर्वदिशा र पश्चिमदिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी धम्की न दे भारत ॥
आफ्नै नैतिकता कतातिर गयो सोचेर राम्रैसँग,
राख्नैपर्दछ मित्रता दृढ अझै सम्झेर हामीसित ।
हिन्दूराष्ट्र भनेर एक भवमा यो राष्ट प्रख्यात छ,
हाम्रो शक्ति बुझेर बोल्नु कहिल्यै धम्की न दे भारत ॥
मान्दैनस् यदि सन्धि गर्न, सुरिँदै गर्छस् भने भारत,
गर्छौँ पूर्णविरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काइदे सैनिक,
लड्नैपर्छ भने लडौँ अघि सरी धम्की न दे भारत ॥

000

लमजुङ
[ - २०२७ सालमा गण्डकी अञ्चलस्तरीय कवि गोष्ठीमा प्रथम पुरस्कार प्राप्त कविता ]


मेदिनीनाथ सुवेदी (धम्की न दे भारत)

क्षेत्रप्रताप अधिकारी

 



कविता


गुहार वीरबहादुर दाइ, गुहार !


पहाडबाट पर-पर
प्रतिमाहरू भागिरहेछन्
गढी, गौंडा र गल्लीहरू
तिम्रो गस्ती मागिरहेछन् ।
प्रशान्त पहरा
पर्वत भएर उठ
अलिकति उच्चाइ थपौं र
सम्मान-गारद अर्पण गरौं हिमालयलाई ।
क्यामरामा लुकेर गए
शान्तिका आँखाहरू
सारङ्गीमा सुकेर गए
स्वदेशी भाकाहरू
हत्केलामा सीप र
सुसेलीमा सिर्जना गाउँदै उठ
शान्तिका आँखा रचना गरौं र
सम्मान-गारद अर्पण गरौं बुद्धलाई ।
आफ्नो भन्नु त्यही बुद्ध हो
बुद्धका आँखाहरू हुन्
आफ्नो भन्नु यही माटो हो
माटाका पाखाहरू हुन् ।
बुद्धका आँखा नरहे
हामी युद्ध हुन्छौं
माटाका पाखा नरहे
टुहुरा हुन्छौं
आऊ माटाको माया रोपौं मुटुभरि र
सम्मान-गारद अर्पण गरौं नेपाललाई ।

000


शरद प्रधान

शरद प्रधान 


कविता


किन रोकियो गति मेरो कलमको


किन रोकियो गति मेरो कलमको
याद छैन मलाई त ।
सायद तिमोलाई पनि थाहा छैन होला ?
असंख्य दिनहरु विताई सकेको यो जिन्दगी भित्र
किन हो अनायस मेरो यात्रामा अवरोध उत्रिए
मलाई त थाहा छैन मेरो अन्तरंगको मर्महरु
सायद ‘म’ आफैलाई एक्लो छु जस्तो लाग्छ होला,
आउछ तर असंख्य भावनाहरु हाम फाल्दै
‘म’ संग प्रत्येक वेलुकी खेल्न लुकामारी
एक्लोपनको आभाासले त हैन मेरा हातहरु
केहि कोर्न मान्दैनन् मेरो हृदयभित्र भावना भएपनि ।
मस्तिष्कका ब्रोजिल वौद्धिकताले थिचिएको त हैन
आफूलाई, मलाई त ‘म’ भित्रको कुरा के थाहा ।
इतिहासका थोत्रा सिद्धान्तहरुले त
भावनालाई वाधेर राखेको त होईन ?
मलाई त के थाहा मेरो कलमको गति
व्यबस्थाले रोकिएको हो या आफैले जन्माएको बिवशताले,
तर मेरो प्रत्येक बिवशता वोल्छ
तेरो कलम त चैत्रको हुरीले उडाएको छैन र ।
‘म’ वुद्धिभित्र आक्रमण गर्दै भन्छु
मलाई के थाहा कसले रोक्यो मेरो कलम
मेरो ‘म’आफैलाई भन्छ
सायद सिसिपसले जस्तो तैंले पनि श्राप पाएर पो होला
कहिले सफलता नपाएको ।
तेरो कलमको गतिमा कसले हस्तक्षेप गरेछ भन्छ
मेरा मित्रहरु नेपत्थवाट
तर म आफै भित्र प्रश्नहरुका सगरमाथा राख्दै भन्छु
मलाई के थाहा किन रोकियो कलम मेरो ।

000

बैरागी काइँला

 

बैरागी काइँला



कविता


हाट भर्ने मानिस


आकाश ढाक्ने सलहरूका झुण्डले
भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू
धसि्रएका अनि पिल्सिएका छात्तीभरि बोकेर,
मिक्जिरीका फूल शताब्दीको छात्तीभरि सुर्केर,
तुनामा,
कोटमाथि बटनहोलमा
बजारको बाँधिएको आयतनभित्र
बगरिहेका भ्यात्त घोप्टिएर
असङ्ख्य छायाहरूका भीडभित्र
हुस्सेमा महायुद्धहरूका बारुदको
कावा खाइरहेका...
आँधीमा
आँखाहरू...
शून्यमा,
जिन्दगी भाँच्चिएर फर्कर्ेेको प्रारम्भमा, फेरि !
हो, यौटा-यौटा शून्य
अनि बस, ठूलो शून्य
बस, ठूलो पोखरी शून्यको,
आँखाभरि !
झोँक चल्दछ,
तर बस, झोँक चल्दछ :
च्यातेर मञ्जुश्रीका तरवारका तीखा औँलाहरूले
यो शून्यको पोखरीलाई, चोभारमा,
प्रत्येक दौडिरहेका क्षणको,
बाली फलाऊँ लहलह !
जिन्दगी !
बाग्मतीको पानीले भिजाएर !
तर झोँक चल्दछ !
बस, झोँक चल्दछ !
इतिहास घिसार्दछ
कमीज च्यातिउञ्जेल इतिहासको पन्नाभित्र
आङमा नङग्याएर कोतरिएको मानचित्र
रगतपच्छे.....
हिरोसिमाको !
पराजयको साइनबोर्ड !
मठारेको दुवै टुप्पा गिलिलित्त सोतो कालोको
कर्णको मृत्यु थाह पाएर
षड्यन्त्रले !
सङ्गीन बोकी यताउता गर्ने
आस्थाका पालेहरूका आँखा झुक्याएर, मूलढोकामा
फिका हाँसो जर्ला राखेर
चिम्लिएका दृष्टि वरिपरि बुद्धको,
मिहीरयामको मुखभित्र.......
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
पर्सिहिँडेको आफैँ.....म ....लाई
मलाई...........
मलाई झण्डै छोएर जाने
पर.... पुगिसकेको कालो मोटरसित
मृत्यु, आज जिन्दागीको छेवैनिर भएर गयो !
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर,
यो जिन्दागी
मृत्यु, आज बजारबाट खाली हात गयो !
कुहुन लागेका आलुहरूमा
रगत बेचेर नजिकैको ब्लड-ब्याँङ्कमा, पैसाले
टुक्राटुक्रा जिजीविषा बटुलिरहेका
अस्तित्व लपटेर कात्रोको झोलाभित्र
यी हाट भर्ने मानिसहरूलाई
तर थाहा नै त भएन !
मृत्युले त आज
जीवनको बजारको भाउ बुझेर, गयो !
उफ ! मृन्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
मलाई झण्डै छोएर जाने .....
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज .....जिन्दगीको छेवैनिर भएर गयो !
मेरो हत्केलामा
थोपा रगतको-यौटा क्षण, यो !
समयको यस घुम्तीमा यौटा ढुङगा, बगरमा !
फेदाङ्माले भविष्यको चल्ला मन्साएर छर्केको, बोकेर......
कट्कटिएको रगत !
निधारमा !
दुईचार थोपा.......
शहीदको !
(हो, मृत्यु त सम्मान हो ! )
यौटा पोथ्रा हारियो-को
यो-यौटा ओएसिस !
उमि्रएको बालुवासित, फगत
प्रतिबिम्बित उज्यालो पिएर !
तर लत्याइएको बेवारिस वातावरणमा
फुक्का ! स्वाधीन ! निरुद्देश्य !
सुख्खा समयको मरुभूमिमा !
फर्माभरि टाँगिएका औँलाहरूमा, झ्यालमा,
अनि दैलोमाथि दलिनतिर
आफ्नै क्षितिजबाट फोइएका माकुराका जालहरू !
उफ् ! कति उदास उदास बाँच्दछन् !
उफ् ! मुक्ति पनि यस्तरी खल्लो र उदास हुन्छ?
उफ् ! यो निरुद्देश्य स्वतन्त्रता,
यो एक्लो स्वतन्त्रता,
भत्किसकेका आकाङ्क्षाहरूका सङ्घर्षको
आफ्नै ! व्यर्थताभित्र कैद हुन्छ !
उफ् ! मुक्ति पनि यस्तरी खल्लो र उदास हुन्छ !
भित्ताभित्ता ठोक्किनु
आकाशसम्म उचालिएका यी आँखाहरू,
कतै आकाश नभेटेर
असन्तुष्ट र अपमानित यी आँखाहरू
बीच बाटोमै खसिदिन्छन्......
........थाकेर !
शून्यको अँध्यारो खाडीभित्र,
फेरि अर्को अनिश्चयको शताब्दीभित्र !
अनि हो ......
काँधमाथि-गिद्ध बोकेर मुटु लुछाउनु
तर पीडाको स्वाभाविक अनुभूतिबाट वञ्चित
प्रमेथ्यूको मुठीमा.....
खुम्चिएका छालाहरूका खापैखापभित्र
नजरबन्द छ :
मभित्र :
यौटा शिर ढलिसकेकेा विद्रोह !
यौटा शिर ढलिसकेकेा विद्रोह !
यौटा शिर ढलिसकेकेा विद्रोह !
यौटा शिर ढलिसकेकेा विद्रोह !
आफूलाई
यद्यपि आफूलाई युद्धमा पठाउँछु,
अन्तर्द्वन्द्वमा
(तर, फगत अन्तर्द्वन्द्वमा )
पड्काउँछु भिसुभिएस र बाली
लागोको लपलपाउँदो बाढीमा होमिदिनु
ज्वरो फुटाउने
रिङटा चलाउने
धृष्टताका समानान्तर रेखाहरू असह्य
मानचित्रमा जिन्दगीको
अनि रिस उठाउने फिकापन नपुंषकताको
यी हाट भर्ने मानिसका आँखाभित्र
यी कैलाकैला आँखाहरूका सागरभित्र......
सुकाउँछन् नील नदी हत्केलामा
समय जमाउँछन् अनस्तित्वको ढिकाभित्र
हिमस्पर्शले यी श्रापित आँखाहरू !
यी श्रापित आँखाहरू
यी असंख्य आँखाहरूको सागरलाई
झोँक चल्दछ
(तर, बस् झोँक चन्दछ)
लहर-लहरमा भाँचेर
चोइटा-चोइटा लहरको समीधामाथि
डढेलो लगाउन आगोमा,
आगो ! आगो ! आगो ! वडवानल !
जीवनको होम : जिन्दगीको आह्वानमा,
फेरि, एकपल्ट अझै !
बस, एकपल्ट अझै !
जिन्दगीमा !
जिन्दगीमा !
जिन्दगीमा !
तर यस चोकमा
गीलो छायाँमा भास्सिएका अपराधीहरूलाई
सम्झौताले बाँधेर पैताला
आँखाहरू घोप्ट्याएर पैतालाको छापभित्र
पोखाइसकेर जिन्दगी
नयाँ सडकको दुवैतिर
यताउता अल्मलिइरहेका रित्ता गाग्रीहरू गतिहीन
यी हाट भर्ने मानिसहरूलाई
च्याप्प समातेर आँखामा,
निहूँ खोज्नु अनि पिटिदिनु
झापट झापटले गीताको !
यस चोकमा ......
एकछिन रोकेर सूर्यलाई
क्यानभासको पल्लो छेउमा, कुरुक्षेत्रमा, जिन्दगीमा !
तर आक्रमण गर्नु प्रत्येक उपत्यकाभित्र
अनि उखेलिदिनु प्रत्येक आँखामा
मलाई निर्वासित गर्ने उदासीनताका सीमास्तम्भ
आँट नआएर खुकुरीको धार मेट्दैछु खियाको परतले
इन्द्रीयहरू मारिरहेछु उमारेर झ्याउहरू मृत्युको !
उफ् ! कति साधारण मृत्यु !
गोली नभेट्टाएर गान्धीको छातीको
खरीको बोट नभेट्टाएर टुँडिखेलमा
काँटी नभेट्टाएर जेरुसलमका गल्लीहरूमा
फेरि भौँतारिन्छ आत्महत्यामा -
यो तक्षक !
मठारेको दुवै टुप्पा गिलिलित्त सोतो कालोको
कर्णको मृत्यु थाह पाएर
षड्यन्त्रले !
सङ्गीन बोकी यताउता गर्ने
आस्थाका पालेहरूका आँखा झुक्याएर, मूलढोकामा
फिका हाँसो जलाइराखेर
चिम्लिएका दृष्टि वरिपरि बुद्धको,
मिहीरयामको मुखभित्र.......
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
पसि्रहिँडेको आफैँ.....म ....लाई
मलाई...........
मलाई झण्डै छोएर जाने
पर.... पुगिसकेको कालो मोटरसित
मृत्यु, आज जिन्दगीको छेवैनिर भएर गयो !
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर,
यो जिन्दगी
मृत्यु, आज बजारबाट खाली हात गयो !
कुहुन लागेका आलुहरूमा
रगत बेचेर नजिकैको ब्लड-ब्याँङ्कमा, पैसाले
टुक्राटुक्रा जिजीविषा बटुलीरहेका
अस्तित्व लपेटेर कात्रोको झोलाभित्र
यी हाट भर्ने मानिसहरूलाई
तर थाहा नै त भएन !
मृत्युले त आज
जीवनको बजारको भाउ बुझेर, गयो !
उफ ! मृन्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
मलाई झण्डै छोएर जाने .....
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज .....जिन्दगीको छेवैनिर भएर गयो !

000

भुवन ढुङ्गाना

 

भुवन ढुङ्गाना


कविता


चैतको बतास

अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यी वर्षहरू हुन्
पछाडि छुटेका ।
वर्षको अन्तिम महिना
चैत छुट्दैछ भारी बिसाएर
पुच्छरमा छ वैशाख झुन्डिएको
चैतको बतासले हल्लाउँछ
बतासले भुँवरी घुमेको छ
फनक्क बितेको यो वर्ष।
अनुभूतिले समातेकी छु
हावाहरूले छुँदैनन्
यी अपरिचितहरू हुन्
बेला–कुबेला दुर्घटनामा परेका
आत्मीयताको गाँठोमा
बिहानीको छापा–खबरले बाँधिएका ।
बतासको गन्थनमा
बारुदको गन्ध
फूलको मालामा
सिनोको दुर्गन्ध
उभिएका छन् लहरै, लस्करै
रामनामी ओढेर
टाउको जोडेर
चैतको बतासमा सयपत्री फूलहरू
ओढेका छन् पिताम्बर
गुनगुन–गुनगुनको मन्त्रोच्चारण
टाउको जोडेर फूलहरू
चैतको बतासमा
अनुभूतिले समातेकी छु
हातहरूले छुँदैनन्
यो वर्षको अन्तिम चैत हो
बताससँगै छुटिरहेको ।

000


मनप्रसाद सुब्बा

 

मनप्रसाद सुब्बा
कविता

उज्यालोको आँखा

उज्यालो उघ्रेको आँखा म
ओथ्रामा अन्डाको खोस्टा चुच्चोले भित्रैबाट छेंडेर
संसार चिहाइरहेको चिङ्नाको आँखा हूँ म
बालुवामुनि लुकाइराखेको अण्डाभित्रको अन्धकार फोरेर
खतराहरूसित खेल्न बाहिर निस्केको कछुवाको आँखा हूँ म
उनीहरूले ओढेका अन्धकारको कालो ओभरसाइज लबेदालाई
मेरो आँखाको म्यानबाट झिलिक्क निस्केको उज्यालोको तरवारले
ह्वार्लाङहुर्लुङ पारिदिन्छ...
अनि एक हत्केलाले लाज छोपेर,
अर्को हातले उज्यालो छेक्न खोज्दै भाग्छन् ती
तर त्यतिन्जेल उज्यालो फैलेर कहाँकहाँ पुगिसकेको हुन्छ !
उज्यालोको शक्ति कति हो कति !
उज्यालो भनेको --
आकारहरूको अनन्त लय,
आकृतिहरूको नौलो नौलो कोरियोग्राफी,
रङ्गहरूको रमाइलो उत्सव
निदाइराखेको अवस्थामा पनि देखिने सपना
अन्धकार भन्नु बस अन्धकार न हो
जसको जन्मै पनि हुँदैन
त्यसैले, त्यसको अस्तित्व हुँदैन
अस्तित्वहीनताको नाम हो अन्धकार,
जसले अरूको अस्तित्वलाई स्वीकार्न पनि सक्दैन
तर उज्यालोको उघ्रेको आँखासित यो सधैँ हारेको छ
अनि हार स्वीकार नगरेर भागिरहन्छ यो
फेरि मौका पाउनसाथ छोप्न आइपुग्छ
नङ्ग्याइएको छ यसलाई कैय्यौ चोटि
हजारौं आँखाहरू बलेर झलमल्ल उज्यालिएको सडकमा,
चारै दिशा एकैसाथ हेरिरहने ब्रह्मा उभिराखेको क्लक्-टावरको
फेदमा...

ओ साथी,
नडराई आँखा उघार त
अँध्यारो आफै भाग्छ !
तिम्रो आफ्नै ओडारमा
कहिलेदेखि सुतिराखेको त्यो चितुवाको आँखालाई ब्युँझाऊ
अनि त्यो झललल बल्दो आँखाले हेर्नु
कि अँध्यारो कस्तरी छ्याङ्छ्याङ्ती नाङ्गिन्छ..

000

ईश्वरवल्लभ

 

ईश्वरवल्लभ


कविता

आस्थाहरू स्वतन्त्र हुन खोज्छन्

म एकफेरा निर्लिप्त हुने मन गर्छु
ती अँध्यारा कोठाहरूझैँ, जो सधैँ कुनै बेस्यहार परेको
– परिवेश जिउँछन् ।
तिमीहरू भन्छौ, ती अघिल्ला झ्यालहरू पनि अनुहार हुन्,
जस्तै बगिरहेका खोलाहरू,
जस्तै अल्झिरहेका बार्दली र झ्यालहरू ।
तिमीहरूले जस्तै,
म सुन्न खोज्छु अनुहारहरू, अँध्यारोमा अँध्यारोहरूमा
यस्तो गर्दा गर्दै कतै कोलाहल बनेको त होइन ?
यस्तो गर्दागर्दै कतै हाँगाहरू बनिरहेको त होइन ?
तैपनि, ती अँध्यारा कोठाहरू झैँ
स्वरूप बनिरहेका हुन्छन्,
कतै वरिपरिको परिवेशको नाममा भित्ता बनेर
त्यता कतै ठूलो अग्निको रापले उभिन खोजेको छ,
उभिँदै र अग्लो हुँदै
अग्लो हुँदै र उभिँदै,
तिमीहरूले भन के भइरहेछ यसरी यहाँ
तिमीहरूले भन के गइरहेछ यसरी यहाँ ?
यात्रा जस्तो
जहाँ पुग्ने क्रमको कुनै रुप छैन
तैपनि तिमीलाई ।
तैपनि मलाई जीउन मन लागिरहेछ
यी सबैबाहेक केही हुन मन लागिरहेछ
ती यात्रा किन बगिरहेको नदी नसोध
उत्तर छैन ।
ती किरणहरू किन भाँचिरहेका, बनिरहेका नसोध,
गति छैन ।
ती बिम्ब किन खोला भइरहेका, नसोध,
पानी छैन ।
तैपनि एउटा मानिस मेरो सामू एउटा गिलास
म उसलाई हेर्न खोज्छु, पिइरहन्छ
उसले गिलास किन पिइरहन्छ,
एकछिन पर्ख, म केही भन्न खोजूँ तिमीलाई
कहिले काहीँ अलिकति पर्दा खोलेर बाहिर हेरेको झैँ
जो निरन्तर बाहिर भइरहन्छ
जो निरन्तर भित्र हुन सक्दैन
जब, त्यो बाहिर भइरहन्छ ।
एकछिन पर्ख म कसैलाई लेखूँ, बिहान गरेर
बिहान उज्यालोको तिमीलाई उपहार हो
तर, त्यहाँ पनि व्यवधान छ,
यी सबै उसले खाएको गिलासको प्रभाव होला
उसले गिलास खाँदा, मलाई हुने गिलासको
– प्रभाव !
त्यता कतै अग्निको सल्काइले, समिधा पाएर,
अग्लो जान्छ पहेँलो तातो भएर माथिसम्म,
त्यस कुनै पनि माथिलाई सल्काउँदै,
कतै नजीक र टाढाबाट केही कर्कश
– बजिरहेर ।
बजिरहन्छ अचेल कर्कश, कानैमा
फेरि बिस्तारै बिलाउँदै जान्छ त्यो हो
त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु ।
कहिलेकाहीँ छेक्छ सीमानाले
र कहिलेकाहीँ सीमानाले बाटो बगाउँछ
त्यो निर्मितिसम्म,
कसैलाई बाँच्ने मन हुन्छ त्यसैले
कसैलाई मर्ने मन हुन्छ त्यसैले ।
मैले र तिमीले । तिमीहरूले यिनै कोलाहलको बीच
– यस प्रकार बाँच्ने र मर्ने मनको कुरा !
हिसाब लेखिन खोजिन्छ कहिले काहीँ
एउटा सानो केटाले भनेको आधारमा –
– आर्कीमिडिज् !
तिमीहरू जल्न चाहँदैनौ,
कोही पनि जल्न चाहँदैन,
त्यसैले कोही पनि, त्यसैले कोही पनि कोही होइन ।
एउटा अग्लो टाकुरोलाई
जिस्काउँछ कुनै सानो लघुताले भने
– त्यो अस्तित्वको खोजी हो ।
त्यसैले म, एकफेरा निर्लिप्त हुने मन गर्छु,
ती अनेकौँ अनुहारजस्तै
ती अनेकौँ अँध्यारोहरूजस्तै
ती अनेकौँ कोठाहरूजस्तै
र एकफेरा म स्वतन्त्र हुन खोज्छु
ती अनेकौँ आस्थाहरूजस्तै ।

000