![]() |
मेदिनीनाथ सुवेदी (वि.सं. १९९७ - २०७३) |
कविता
धम्की न दे भारत
हाम्रो खास छिमेक भै स्थिति निकै मिल्दा दुवै देशको,
धेरैवर्ष अगाडिदेखि बलियो मित्रत्व सम्बन्ध भो ।
सोझै राख्छु दबनबमा म त भनी धम्की न दे भारत ॥
सानो गर्दछ के सबै किसिमले मै हूँ ठुलो देश त,
खाँचो हुन्छ अनेक चीज नदिए नेपालमा के छ र ?
भन्ने भाव लिएर तुच्छपनका ठानेर हामीसित,
लत्री आउँछ, भित्र यो मत छिटै धम्की न दे भारत ॥
यो नेपाल पवित्र नै छ अरुको दासत्वले शून्य छ,
धेरैवर्ष छ मुस्लिमी, वृटिशको दासत्वमा भारत ।
बाँचेको इतिहास भन्छ भवमा साक्षी बनी स्पष्टतः,
ठूलो पेट नचाउँदै समरको धम्की न दे भारत ॥
हाम्रा वीर सपूत छन् समरमा यो विश्व थर्काउने,
हाम्रा जोश र होस छन् मुलुक यो आकल्प जोगाउने ।
यो सांसारिक शत्रुको बल लिने नेपालमा शक्ति छ,
तेरो तागत छैन कत्ति यसमा धम्की न दे भारत ॥
हिंसाहीन बनी लडाइँ नगरी शान्ति-प्रथा ल्याउन,
गान्धीवाद चल्यो त्यही मुलुकमा स्वातन्त्र्य फर्काउन ।
जन्मी नेहरुबाट नै अब मर्यो त्यो पञ्चशील स्वतः,
त्यत्रो धाक कहाँ गयो समरको धम्की न दे भारत ॥
गर्दै सन्धि छिटै कि पारबहनी वाणिज्य सम्बन्ध यो,
साठीको जुन शर्तमा छ बलियो त्यै शर्तमा चल्छ यो ।
सम्झीराख भविष्य इज्जत नयाँ मित्रत्वले प्रेरित
भै त्यो भूल सुधार झट्ट गरिदे धम्की न दे भारत ॥
सं.रा.सं. प्रति फर्कँदा वचनमा बल्छी परेको दिन,
लाग्ने लाज तँसङ्ग छैन कि त्यसै गर्छस् अमैत्री किन ?
नाकाबन्द गरेर दुर्नियतको छोरो उडाइस् कि त,
तेरो हुन्न भलाइ कत्ति अहिले धम्की न दे भारत ॥
ठूला चीन अमेरिका रुसहरूलाई बरु हाँक दे,
साना देश अँठ्याउने कलुषता राख्ने प्रथा छोडिदे ।
तेरो यो स्थिति ठीक छैन अरुले भन्छन् सधैँ स्पष्टतः,
नेपालीसँग मिल्नुपर्छ, कहिल्यै धम्की न दे भारत ॥
टिस्टा पूर्वदिशा र पश्चिमदिशा किल्ला त त्यो काँगडा,
हाम्रो साँध थियो लडेर बलले सीमा गरेको खडा ।
त्यो ताजा इतिहास आज सबले आँट्यौँ भने सर्वतः,
आफ्नै देश बढाउँछौँ अघि बढी धम्की न दे भारत ॥
आफ्नै नैतिकता कतातिर गयो सोचेर राम्रैसँग,
राख्नैपर्दछ मित्रता दृढ अझै सम्झेर हामीसित ।
हिन्दूराष्ट्र भनेर एक भवमा यो राष्ट प्रख्यात छ,
हाम्रो शक्ति बुझेर बोल्नु कहिल्यै धम्की न दे भारत ॥
मान्दैनस् यदि सन्धि गर्न, सुरिँदै गर्छस् भने भारत,
गर्छौँ पूर्णविरोध कत्ति नझुकी हौँ वीरका वंशज ।
हाम्रा मानिस छन् त्यहाँ जति यहाँ फर्काइदे सैनिक,
लड्नैपर्छ भने लडौँ अघि सरी धम्की न दे भारत ॥
000
लमजुङ
[ - २०२७ सालमा गण्डकी अञ्चलस्तरीय कवि गोष्ठीमा प्रथम पुरस्कार प्राप्त कविता ]
No comments:
Post a Comment