कृष्णभूषण बल |
कविता
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
नाच्नुपर्छ पैतलाहरुले अब भनज्याङ्गहरु
टेक्नुपर्छ , आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखीझै फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।
एउटै ढुङ्गाले कुनै घर बनिन सक्दैन , ढुङ्गाको तहतह हुनुपर्छ
एउटै पोखरीको कुनै ताल हुँदैन , थुप्रै दहदह जम्नुपर्छ
हुटिट्याउले सगर थामन खोजेर थामिन सक्दैन सगर
वर्षे भेलको सानो चपेटले , मेट्न खोजेर मेटिन्न बगर
पहाड, मधेश, थुम्काथुम्की र उकालीओरालीको देश
कसेको पेवा होइन , कसैले ठेक्का लिएर पनि हुनेछैन
मुहान जो बग्नुपर्छ , जम्नुको यसको कुनै अर्थ हुँदैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
खोरमा थुनिएर पनि बिहानीको संकेत दिन्छ कुखुराको भाले
निरर्थक प्रयासमा युग हाँस्छ ,
बलिसकेको दिनलाई हुस्सुले ढाक्न खोजे
टुँडिखेलका प्रत्येक सुरहरुमा घोडा छाडेर त्यत्तिकै डटेकै छ इतिहास
टाप बजारेर कुदिरहेको घोडालाई
त्यत्तिकै चाबुक लगाइरहेछ एउटा उपहास
अनिष्ठ भन्छन् सपना देख्नेहरुपनि
यस्तो कालो घोडा र कालो मान्छे
तर काठमाण्डू छातमिाथी बोकीरहेकै छ
यस्ता कतिकति इतिहाँसका मान्छे
किन थाहा भएन तिमीलाई एउटा रौंलाई मात्र भनिन्न केश
किन थाहा भएन तिमीलाई एउटै इतिहाँसको मात्र हुँदैन देश
काठमाण्डू वास्तवमा भित्रभित्रै छटपटिएको छ
काठमाण्डू वास्तवमा भित्रभित्रै गुम्सिएको छ
मञ्जुश्रीको अर्को तरवारको विकास खोजीरहेको छ ऊ
युगका गह्रौ पाइलाहरु अब धेरै बोक्न सक्दैन
यसैले बग्ने निकास खोजीरहेको छ ऊ ।
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
000
No comments:
Post a Comment